Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

भोजपुरमा प्रशस्त पर्यटकीय सम्भावना बोकेको छाँगे झरना ओझेलमा


१८ असार, भोजपुर । भोजपुर जिल्लाको एक सय ३९ मिटर अग्लो छाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचारप्रसारको अभावले ओझेलमा परेको हो ।

प्राकृतिकरुपमा मनोरम रहेको यो जिल्लाको सबैभन्दा अग्लो झरना हो । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । देश तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयको बुझाइ छ ।

झरनाको विकासका लागि षडानन्द नगरपालिका तथा प्रदेश १ सरकारको लगानीमा त्यहाँ पुग्नको लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । भौगोलिकरुपमा विकट ठाउँमा झरना रहेकाले मानिसको उपस्थिति कम हुने गरेको छ । यहाँ भदौरे पूर्णिमा र वैशाख पूर्णिमा गरी दुई पटक मेला लाग्ने भए पनि अन्य समयमा पनि भरना हेर्न तथा त्यहाँ रहेको धामको दर्शन गर्न मानिस पुग्ने गरेका छन् ।

झरनास्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा वस्नका लागि फलैँचासमेत निर्माण गरिएको स्थानीयको भनाइ छ । झरना आसपासमा बस्न तथा खानको लागि उचित प्रबन्ध नहुँदा समस्या हुने गरेको छ । सुन्दरताको चिनारी बनाएको धार्मिकरुपमा समेत महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ । यहाँ रहेको छाँगे धाममा दर्शन गरेमा चिताएको काम पूरा हुने तथा रोगव्याधि निको हुने जनविश्वास रहेको छ ।

“यो झरना हाम्रो ठाउँको लागि प्रकृतिको अमूल्य उपहार हो”, स्थानीय इन्द्रप्रसाद धमलाले भने, “यसको उचित विकाससँगै देश विदेशमा चिनाउन सकिएको छैन । अन्य ठाउँमा रहेका यस्ता झरनाको संरक्षण गरेर स्थानीयको जीवनस्तरमा समेत परिवर्तन आएको हामीले देखेका छौँ । यसलाई संरक्षण गर्दै प्रचारप्रसार गर्नसके यहाँ आएका पर्यटकलाई खान बस्न दिएर नै जीवनयापन गर्ने सक्ने अवस्था बन्छ । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।”

झरनालाई विकास गर्दै पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्गमा व्यवस्थित गर्नसके पर्यटकलाई आउन सहज हुने उनले बताए । प्रकृतिले सुन्दर उपहार दिएको भए पनि यसबाट लाभ लिन नसेकेको भनाइ छ ।

पर्यटकीयसँगै सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ । ओझेलमा परेका यस्ता पर्यटकीयस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय शङ्खरप्रसाद राईले बताए । “ओझेलमा परेका यस्ता ठाउँको खोजीमा राज्यले ध्यान दिन आवश्यक छ । जिल्लाकै सबैभन्दा अग्लो झरर्ना रहेको यो ठाउँ अहिले पनि कसैको नजरमा पर्न सकेको छैन । यस्ता ठाउँको विकासमा राज्यले ध्यान दिन आवश्यक छ । यसको प्रचारप्रसार गर्ने हो भने पर्यटक भित्र्याउन कुनै समस्या छैन । यो आफैँमा एक सुन्दर ठाउँ हो ।” स्थानीय राईले भने ।

छाँगे झरनालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रुपमा स्थापित गराउने उद्देश्य रहेको षडानन्द नगरपालिकाले जनाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर नगरपालिकासँगै केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । “जिल्लाकै अग्लो झरना भए पनि विविध कारणले ओझेलमा छ”, प्रमुख उदासले भने, “यसलाई उचित ढङ्गले विकास गर्दै नमूनायोग्य पर्यटकीयस्थल बनाउने योजना छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माण गर्छौं । त्यसलाई पनि प्राथमिकतामा राखेर काम गर्छौं । यो झरनालाई आम्दानीको स्रोतको रुपमा विकास गर्ने मेरो लक्ष्य छ ।”

षडानन्द नगरपालिका इतिहास बोकेको स्थान रहेकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको प्रमुख उदासले सनाए । यहाँका धार्मिक तथा पर्यटकिय क्षेत्रको पहिचान गरेर एकीकृतरुपमा विकास गर्ने उनको भनाइ छ । सतीघाटमा रहेको ढुङ्गा संरक्षण गर्दै पार्क निर्माण गरेर त्यहाँबाट साम्पाङमा रहेको कुन्सालिङ डाँडा बौद्ध गुम्बा निर्माणसँगै ७५ फिटको रिमपोचे मूर्ति राख्ने, हाँस पोखरी साउने डाँडाँ हुँदै, छाँगे झरना पुगेर नेपाले डाँडाको ओम्मकार शक्ति पीठ हुँदै योगमाया समाधिस्थल मजुवाबेँसीलाई समेटेर एकीकृतरुपमा पर्यटकीय क्षेत्रको रुपमा बृहत्तर विकास गर्ने प्रमुख उदासको भनाइ छ ।

“यो हाम्रो ठाउँ देशकै एउटा इतिहास बोकेको ठाउँ हो”, प्रमुख उदासले भने, “यो क्रान्तियोदा योगमाया, बाला गुरु षडानन्दले पाइला टेकेको पुन्यभूमि हो । त्यस्तै पर्यटकीय क्षेत्रको पनि उत्तिकै सम्भवाना बोकेको स्थान हो । यहाँका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई एकीकृतरुपमा समेटेर दीर्घकालीन लक्ष्यका साथ काम गर्ने योजना छ ।”


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?