Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग


पेट्रोलियम पदार्थको मूल्यवृद्धि

१७ असार, ताप्लेजुङ । ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय सङ्कट उत्पन्न हुन लागेको जनाउँदै ध्यानाकर्षण गराएका हुन् । निरीक्षणका क्रममा पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडामा शनिबार मन्त्री ज्वालालाई भेट गर्दै ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङसहितको टोलीले मानवीय सङ्कट आउनबाट रोक्न आग्रह गरेको हो ।

प्रजिअ चेम्जोङका अनुसार यही असार २ गते बाढीले हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङमा १५ दिन पुग्ने खाद्यान्न मौज्दात रहेको आँकलन गरिएको थियो । हेवाखोला डाइभर्सनबाट केही घन्टा यातायातका साधन चल्दा थप केही खाद्यान्न र पेट्रोलियम पदार्थ ताप्लेजुङ भित्रिएको थियो । यसरी जम्मा भएको खाद्यान्न र पेट्रोलियम पदार्थ सकिन लागेको उनले जानकारी दिए । “हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा मानवीय सङ्कट आउन लागेको छ”, उनले भने, “त्यसैले मेची राजमार्ग र तमोर करिडोर चाँडोभन्दा चाँडो सञ्चालन गराउन मन्त्रीज्यूमार्फत म विशेष आग्रह गर्दछु ।”

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापा जिल्लाको अवस्था दयनीय बनेको बताए । “पेट्रोलियम पदार्थ नपाइँदा यातायात अवरुद्ध हुन लागेको छ । चामलको मौज्दात सकिन लागेको छ”, उनले भने, “अब चार–पाँच दिनसम्म मालवाहक सवारी ताप्लेजुङ नआउने हो भने यहाँ समस्या हुन सक्छ । अहिले खाना पकाउने ग्यासको समस्या भएको छ ।”

डाइभर्सन सञ्चालनको प्रयास प्रभावकारी नभएको अध्यक्ष थापाले गुनासो गरे । यस्तै बेलीब्रिज निर्माणमा पर्याप्त जनशक्तिको परिचालन गर्न ताप्लेजुङवासीले आग्रह गरेका छन् । “असार ३ गते १०–१२ दिनमा बन्छ भनेको बेलीब्रिज अझै १०–१५ दिनपछि मात्रै सम्पन्न हुने देखिन्छ”, अध्यक्ष थापाले भने, “यसमा सरकार गम्भीर बनेर लाग्नुपर्यो ।”

प्रजिअ चेम्जोङका अनुसार बाढीपहिराका कारण ताप्लेजुङमा तीन जनाको मृत्यु भएको छ भने तीन घाइते छन् । यस्तै तीन अझै बेपत्ता छन् । ताप्लेजुङमा बाढीपहिराका कारण सिदिङ्वा, सिरिजङ्घा र मैवाखोला गाउँपालिकाका गरी ३३ घरमा पूर्ण क्षति भएको छ भने उच्च जोखिममा एक सय ११ घर छन् ।

विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरू आफन्त, विद्यालय र टेन्टमा आश्रय लिएर बसेका छन् । विस्थापितलाई नेपाल रेडक्रस सोसाइटी, प्रदेश र जिल्ला विपद् व्यवस्थापन कोषबाट सहयोग हुँदै आएको छ भने टेन्ट, कम्बललगायत बसोबासका सामग्री प्रदान गरिएको छ । ताप्लेजुङमा एउटा मोटरेबल पुल पूर्ण क्षति भएको छ भने तीनवटा मोटरेबल पुलमा क्षति पुगेको छ । यस्तै १० झोलुङ्गे पुल, १० लघुजलविद्युत्मा क्षति पुगेको प्रजिअ चेम्जोङले जानकारी दिए ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?