Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

झापामा सहिदका स्मृतिमा सडकको नामकरण


१६ असार ,झापा । मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका झापाका दुई सहिदको स्मृतिमा सडकको नामकरण गरेको छ ।

मेचीनगरले पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई ‘सहिद विश्वनाथ घिमिरे मार्ग’ नामकरण गरेको नगरप्रमुख गोपाल बुढाथोकीले बताए । यो सडक १९ किलोमिटर लामो छ । यसअघि यो सडकलाई मेची करिडरको रुपमा परिचित थियो ।

यसैगरी, पूर्वपश्चिम राजमार्गकै धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुर नगरपालिकाको घोडामारा जोड्ने १५ किलोमिटर सडकलाई ‘सहिद वीरेन राजवंशी मार्ग’ नामकरण गरिएको उनले जानकारी दिए । मेचीनगर नगरपालिकाको शुक्रबार सम्पन्न नगरसभामा विशेष प्रस्ताव अनुमोदन गरेर ती दुई सडकको नामकरण गरिएको हो ।

विसं २०२९ फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने निहुँमा झापा र इलामको सीमानास्थित सुखानी जंगलमा पञ्चायती शासकले गोली हानी कम्युनिष्ट राजबन्दी वीरेन राजवंशीको हत्या गरेका थिए । झापा विद्रोहको क्रममा भएको सो घटनामा राजवंशीसँगै पाँच जना विद्रोही नेताको हत्या भएको थियो । जसलाई सरकारले सहिदको रुपमा सम्मान दिइसकेको छ ।

सहिद वीरेन राजवंशीको घर सोही सडकको ज्यामिरगढी खण्डमा रहेको छ । त्यसैगरी, सहिद विश्वनाथ घिमिरेलाई ‘झापाका प्रथम सहिद’को रुपमा सम्मान दिइँदै आएको छ । नेपाली कांग्रेसको नेताको रुपमा तत्कालीन बाहुनडाँगीको जनपक्षीय प्रधानपञ्च निर्वाचित घिमिरेलाई पञ्चायती शासकले विसंं २०१९ जेठ ३१ गते निन्दा खोलाको किनारमा बाटो छेकी गोली हानी हत्या गरेका थिए ।

सहिद राजवंशीको ज्यामिरगढीमा र सहिद घिमिरेको बाहुनडाँगीमा प्रतिष्ठान तथा शालिक निर्माण भएको छ । आफ्ना हजुरबुबाले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिनुभएको शहादतको मूल्याङ्कन गर्दै नगरपालिकाले सडकको नामकरण गरेकोमा सहिद विश्वनाथ घिमिरेका नाति पङ्कज घिमिरेले धन्यवाद व्यक्त गरेका  छन् ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?