Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सङ्घीयताका चुनौतीको सामना गरेर अघि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री


१५ असार ,कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताका चुनौतीको सामना गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

पोखरामा आज आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठक, २०८० को समापन सत्रलाई सम्बोधन गर्दै उनले भने, “प्रदेशको आवश्यकता छैन भन्ने तर्क पनि छन् । तर ती वैज्ञानिक छैनन्, हामीले जनताको घरदैलोमा सत्ता र सेवा पुगोस् भन्नका निम्ति पनि सङ्घीयताको व्यवस्था गरेका हौँ । समस्या र चुनौती जे छन्, तिनीहरूको सामना गर्दै अगाडि बढ्नुको विकल्प छैन ।”

संविधानमा तीन तहको सरकारको अधिकारको बाँडफाँटको व्यवस्था गरिएको प्रधानमन्त्री दाहालले स्पष्ट पारे । सङ्घीयताबारे राजनीतिक तहमा सोचाइमा एकरूपता आउन नसक्दा आवश्यक ऐन, कानून बनाउने कुरामा ढिलाइ भएको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, “यसपटक सङ्घीयता कार्यान्वयनका लागि प्रशस्त प्रयास गरिएको छ । सङ्घीयताबारे हामी सैद्धान्तिक, नीतिगत, कानूनी र व्यावहारिक विषयसमेतमा स्पष्ट छौँ । त्यसका लागि आवश्यक पर्ने ऐन, कानून निर्माण हाम्रो प्राथमिकतामा छ ।”

सरकारले सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन र सङ्घीय प्रहरी ऐन छिटो निर्माण गर्न पहल गरिरहेको प्रधानमन्त्रीले बताए । “सङ्घीय निजामती ऐन छिटै संसद्मा टेबुल गर्छौं । सदनको यसै अधिवेशनमा यी ऐन टुङ्गाउने हाम्रो कोसिस रहन्छ”, उनले भने ।

प्रधानमन्त्री दाहालले अन्तरप्रदेश मुख्यमन्त्री बैठकले निकालेका साझा निष्कर्षको साझापत्रबारे सङ्घीय सरकारमा गम्भीररूपमा छलफल हुने प्रतिबद्धता जनाए । “मुख्यमन्त्रीहरूको साझापत्रबारे सङ्घमा गम्भीररूपमा छलफल गर्छु । तपाईंहरूको साझापत्रले मलाई बल पुगेको छ । म केन्द्रमा, राजनीतिक र प्रशासनिक तहमा यसबारे गम्भीररूपमा छलफल गर्छु”, उनले भने ।

बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले प्रस्तुत गर्नुभएका विषयको साझापत्र तयार पारिएको थियो । सो पत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ । मुख्यमन्त्रीको बैठकले तयार पारेको साझापत्रमा सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घीय सरकारले नीतिगत, कानूनी र व्यावहारिक विषयलाई सम्बोधन गर्नुपर्ने माग गरिएको छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?