Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

पहिराले राजमार्गमा यात्रुलाई सास्तीपछि वैकल्पिक सडक सञ्चालन गरिँदै


१४ असार ,कास्की । पुष्पलाल–मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा पहिराले गर्दा दैनिक सडक अवरुद्ध हुँदै आएको छ ।

साविक धौलागिरिका चार जिल्लासहित सोही राजमार्ग हुँदै पूर्वी रुकुम र रोल्पासम्म पुग्ने नागरिक छिनछिनमा खस्ने पहिराले सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् । एकतर्फीरूपमा मात्र यातायात सञ्चालन गरिँदै आएको साँघुरो सडकमा खसिरहने पहिरो र हिलोमा सवारीसाधन फसेर सुत्केरी, बिरामी, जन्ती र यात्रुलाई सास्ती भएपछि गण्डकी प्रदेश सरकारले विकल्प खोजी गरेको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, मध्यपहाडी राजमार्ग आयोजनाका प्रतिनिधिलगायतको टालीले आज राजमार्गको स्थलगत अवलोकन गरी विकल्प खोज्ने निर्णय गरेको हो ।

पोखरा–बाग्लुङखण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने पूर्वाधार विकास कार्यालय पोखराका प्रमुख महेन्द्र बानियाँले बताए । उनका अनुसार ठूला सवारी साधनले राजमार्ग नै प्रयोग गर्ने, साना सवारी साधनको काँडे–मनाङचे–पत्थरचोक र पत्थरचोक–पाउदुरकोट सडक प्रयोगमा ल्याउने गरी व्यवस्थापन गर्न लागिएको हो ।

उनले भने, “पाउदुरको पहिराले केही दिनदेखि यात्रु समस्यामा परेको धेरै गुनासा आएपछि हामीले जाम कम गर्न र सहज यात्राका लागि वैकल्पिक सडक प्रयोगमा ल्याउने निर्णय गरेका छौँ । यसबाट घन्टौँसम्म जाममा पर्ने समस्याबाट नागरिकले छुटकारा पाउने छन् ।”

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र मध्यपहाडी लोकमार्ग सडक आयोजनाले गाउँपालिकासँग समन्वय गरेर तत्कालै वैकल्पिक सडक मर्मत गरेर जीप, ट्याक्सी र मोटरसाइकल सञ्चालन गर्न सकिने बनाइनेछ । वैकल्पिक सडक भएमा सवारी साधनको चाप घट्ने र ठूला गाडीलाई पहिरो पार गराउन सहज हुने प्राविधिकले सुझाव दिएका थिए ।

गण्डकीको पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, लुम्बिनीको पूर्वी रुकुम रोल्पाको समेत मुख्य राजमार्गका रूपमा रहेको मध्यपहाडी लोकमार्गको पाउदुर खण्डमा दैनिक घन्टौँसम्म अवरुद्ध हुदाँ सयौँ यात्रु जाममा परेर दुःख पाएका छन् । चार वर्षअघि भासिएको सो सडकमा पहिरो रोकथाम गर्न रु तीन करोड ५० लाखमा ठेक्का लिएको ओमबुद्ध इन्टरनेशनलसँगको सम्झौताको दोस्रो पटक थपिएको म्याद यही असार ५ गते सकिएको छ ।

हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति छ । जम्मा ८० मिटर क्षेत्रलाई स्टेभल बनाउने कार्यअन्तर्गत ६५ मिटरको फाउन्डेसन बनेको छ भने १५ मिटरको काम अझै सुरु भएको छैन । तत्काल सडक निर्माण हुने नदेखिएपछि पहिरो नियन्त्रणको वैकल्पिक उपाय खोजेर नियमित यातायात सञ्चालनका लागि प्रयास गरिएको मन्त्री जुग्जालीले बताए ।

उनले भने, “साविक धौलागिरि क्षेत्रको ‘लाइफलाइन’का रूपमा रहेको राजमार्ग अवरुद्ध हुँदा यात्रुले दुःख पाएका छन् । जनतालाई थप कष्ट नहोस् भनेर वैकल्पिक सडक प्रयोगमा ल्याउने निर्णय गरी सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छौँ ।”


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?