Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

राजमार्ग आवतजावत गर्ने यात्रुको लागि कोसेली बन्यो पूर्वी नेपालको निगुरो


१३ असार, काठमाडाैँ । शहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ। अर्गानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ।

मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलेको छ। राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ यहाँको निगुरो।

बेलबारी-१० भाउन्नेकी आच्छामाया राई ६८ वर्ष पुगिसकेकी छन्। तर उनी दैनिक ३० देखि ४० मुठासम्म निगुरो टिप्दैआएकी छन्। निगुरो प्रतिमुठा २५ रुपैयाँमा बेच्ने गरेको राई बताउँछिन्। उनीजस्तै सयौँ महिला यस क्षेत्रमा निगुरो टिपेरै आम्दानी गरिराखेका छन्।

भाउन्नेमा विगत २८ वर्षदेखि निगुरोको व्यापार गर्दै आएकी भद्रमाया भट्टराईका अनुसार केही वर्ष अघिसम्म अहिलेको जस्तो निगुरो काठमाडौं पठाइन्नथ्यो।

‘बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्‍याउनुपर्थ्यो तर अहिले अरुले टिपेर ल्याएको निगुरो हामीले सङ्कलन गर्छौँ र हामीबाट काठमाडौंका व्यापारीले किनेर लैजान्छन्,’ भद्रमायाले भनिन्।

यस क्षेत्रबाट दैनिक निगुरो राजधानीलगायत अन्य शहरमा बिक्रीका लागि लैजाने गरेका लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन। वार्षिक झण्डै एक करोड रुपैयाँभन्दा बढीको निगुरो यहाँबाट बिक्रीका लागि लैजाने गरिएको छ।

मोरङमा एक सय ३४ सामुदायिक वन छन्। पथरी, बेलबारी, कानेपोखरी र सुन्दरहरैँचाका सामुदायिक वनमा धेरै मात्रामा निगुरो पाइन्छ।

जिल्ला वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे निगुरोसम्बन्धी कार्यक्रम सामुदायिक वनको कार्ययोजनामै राख्न लगाउने बताउँछन्। चैत दोस्रो हप्तादेखि जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिन्छ। तर यो वर्ष निगुरो सुक्खा खडेरीले गर्दा बैशाखसम्म पलाउन सकेको थिएन।

कृषिविज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उन्यू प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउँछ। समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा उप्रेती बताउँछन्। निगुरोमा प्रोटिन, भिटामिन, क्याल्सियमलगायत पोषकतत्व पाइन्छ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?