Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

राजमार्ग आवतजावत गर्ने यात्रुको लागि कोसेली बन्यो पूर्वी नेपालको निगुरो


१३ असार, काठमाडाैँ । शहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ। अर्गानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ।

मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलेको छ। राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ यहाँको निगुरो।

बेलबारी-१० भाउन्नेकी आच्छामाया राई ६८ वर्ष पुगिसकेकी छन्। तर उनी दैनिक ३० देखि ४० मुठासम्म निगुरो टिप्दैआएकी छन्। निगुरो प्रतिमुठा २५ रुपैयाँमा बेच्ने गरेको राई बताउँछिन्। उनीजस्तै सयौँ महिला यस क्षेत्रमा निगुरो टिपेरै आम्दानी गरिराखेका छन्।

भाउन्नेमा विगत २८ वर्षदेखि निगुरोको व्यापार गर्दै आएकी भद्रमाया भट्टराईका अनुसार केही वर्ष अघिसम्म अहिलेको जस्तो निगुरो काठमाडौं पठाइन्नथ्यो।

‘बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुर्‍याउनुपर्थ्यो तर अहिले अरुले टिपेर ल्याएको निगुरो हामीले सङ्कलन गर्छौँ र हामीबाट काठमाडौंका व्यापारीले किनेर लैजान्छन्,’ भद्रमायाले भनिन्।

यस क्षेत्रबाट दैनिक निगुरो राजधानीलगायत अन्य शहरमा बिक्रीका लागि लैजाने गरेका लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन। वार्षिक झण्डै एक करोड रुपैयाँभन्दा बढीको निगुरो यहाँबाट बिक्रीका लागि लैजाने गरिएको छ।

मोरङमा एक सय ३४ सामुदायिक वन छन्। पथरी, बेलबारी, कानेपोखरी र सुन्दरहरैँचाका सामुदायिक वनमा धेरै मात्रामा निगुरो पाइन्छ।

जिल्ला वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे निगुरोसम्बन्धी कार्यक्रम सामुदायिक वनको कार्ययोजनामै राख्न लगाउने बताउँछन्। चैत दोस्रो हप्तादेखि जङ्गलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म टिप्न सकिन्छ। तर यो वर्ष निगुरो सुक्खा खडेरीले गर्दा बैशाखसम्म पलाउन सकेको थिएन।

कृषिविज्ञ डा राजेन्द्र उप्रेतीका अनुसार निगुरो एक उन्यू प्रजातिको वनस्पति भएकाले यसले चिस्यान क्षेत्र रोज्ने गरेको र त्यस क्षेत्रमा मात्र राम्ररी फस्टाउँछ। समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने डा उप्रेती बताउँछन्। निगुरोमा प्रोटिन, भिटामिन, क्याल्सियमलगायत पोषकतत्व पाइन्छ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?