Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

जन्मजात मोतियाविन्दु भएका सागरको निःशुल्क शल्यक्रियापछि फेरिएको दैनिकी


१३ असार, मोरङ । रतुवामाई नगरपालिका मोरङका १० वर्षीय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ । आँखामा जन्मजात मोतियाविन्दुको समस्या भएका कारण टाढाको वस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रस्ट देख्न थालेका छन् ।

मुनाल आदर्श विद्या सदनमा चौथो कक्षामा अध्ययनरत सागरको नेपाल नेत्रज्योति सङ्घको पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालले निःशुल्क आँखाको शल्यक्रिया गरिदिएपछि उनको दैनिकी फेरिएको हो ।

सामान्य कृषि पेसामा आबद्ध उनको परिवारलाई उनको आँखामा समस्या देखिएपछि कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको थियो तर अस्पताल आएर सबै कुरा बताएपछि अस्पतालले नै उनको निःशुल्क शल्यक्रिया गरिदिएको हो । सिबिएमको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक पहुँच र पुनर्वास कार्यक्रमअन्तर्गतको विद्यालय आँखा र कान जाँचमा आँखा परीक्षण गर्दा सागरको दाहिने आँखामा मध्यम दृष्टि कमजोरी थियो । आँखा स्वास्थ्यकर्मीले उनलाई रिपोर्ट दिई त्यो रिपोर्ट परिवारलाई दिन र नजिकैको आँखा अस्पतालमा परामर्श गर्न सल्लाह दिएका थिए ।

अरु दिनजस्तै सागरले घर पुगेपछि परिवारलाई रिपोर्ट दिए । ‘रिपोर्ट हेरेपछि हामीले तुरुन्तै आँखा अस्पतालमा ल्यायौं,’ सागरकी आमाले भनिन, ‘हामीजस्ता सामान्य परिवारलाई बिहान खाएपछि बेलुका के खाने भन्ने हुन्छ, अब छोराको शल्यक्रिया गर्नुपर्छ भनेपछि कसरी गर्ने भन्ने चिन्ता थियो तर अस्पताल आएपछि यहाँ डाक्टरले सबै उपचार र शल्यक्रिया निःशुल्क हुन्छ भनेपछि भगवान् नै पाएजस्तो भयो ।’

सागरको आँखामा जन्मजात मोतियाविन्दु भएकाले उनलाई आफ्नो आँखाले कतिसम्म प्रष्ट देख्छ र कति टाढासम्मको कुरा पढ्न र देख्न सकिन्छ भन्ने कुरा थाहा नै थिएन । जसका कारण उनलाई आफ्ना आँखामा समस्या छ वा कमजोर छ भन्ने कुरा थाहा नै भएन ।

सागरको उपचारमा संलग्न नेत्र विशेषज्ञ डा पवन श्रेष्ठले भने, ‘यही कारणले हो नियमितरूपमा आँखाको परीक्षण गर्नुपर्छ भनेको, कतिपय यो समस्या हो भन्ने थाहा नपाएर नै बिरामीले समस्यालाई झेलिरहेका छन् ।’

अस्पतालका मेडिकल डाइरेक्टर डा रक्षा पन्त सिटौलाले कुनै पनि नागरिक उपचारबाट वञ्चित हुनु नपरोस् भनेर अस्पतालले विभिन्न सङ्घ संस्था र निकायसँगको सहकार्यमा विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको र अस्पताल आउने बिरामी पनि आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनु नपर्ने जानकारी दिए ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?