Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

मन्साङकोटमा प्याराग्लाइडिङको व्यावसायिक उडान


१२ असार, स्याङ्जा । स्याङ्जाको वालिङ–१ मन्साङकोटमा व्यावसायिक प्याराग्लाइडिङ हुँदै आएको छ । प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना बोकेको यस ठाउँमा परीक्षण उडान सफल भएपछि पछिल्लो समय नियमित उडान हुँदै आएको हो ।

बाबु एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट इजाजत तथा अनुमति लिएर व्यावसायिक उडान थालेको प्रालिका सञ्चालक सानोबाबु सुनुवारले बताए । यस ठाउँमा परीक्षण उडान गरी सफल भएसँगै अहिले पूर्वाधार निर्माण गरी व्यावसायिक उडान हुँदै आएको छ ।

पर्यटकीय सहर पोखरा र सुनौली जोड्ने सिद्धार्थ राजमार्गको त्रियासीबाट नजिकैको स्थान भएकाले पनि मन्साङकोटलाई प्याराग्लाइडिङ स्थलका रूपमा विकास गर्दै लगिएको उनले जानकारी दिए । “सिद्धार्थ राजमार्गबाट नजिकैको स्थानमा अवस्थित मन्साङकोटबाट टाढाटाढाका दृश्यहरु पनि देखिन्छन्”, सञ्चालक सुनुवारले  भने, “टाढाटाढासम्मको दृश्यावलोकन गर्न सकिनाका साथै ऐतिहासिक एवं पौराणिक महत्वसँग जोडिएको आँधीखोलाको किनारमा अवतरण गर्दा छुट्टै आनन्द आउने गर्छ ।”

सिद्धार्थ राजमार्ग भएर सुनौली–पोखरा गर्ने स्वदेशी तथा विदेशी पर्यटकले सडकबाटै उक्त स्थान सजिलै देख्न सक्ने र जान सक्ने भएकाले पनि यहाँ भोलिका दिनमा पर्यटकको आवागमन बढ्दै जाने जिकिर उनको थियो । हावाको बहाव राम्रो हुनु, टाढाटाढाको दृश्य सजिलै देखिने, बजारबाट नजिक रहेको मन्साङकोटबाट छोटो दूरीको प्याराग्लाइडिङ गर्न उपयुक्त रहेको सञ्चालक सुनुवारले बताए । मन्साङकोट समुद्र सतहदेखि झन्डै एक हजार तीन सय मिटरको उचाइमा रहेको छ । “छोटो दूरीको प्याराग्लाइडिङका लागि यो ठाउँ निकै उपयुक्त छ”, उनले भने, “यसको प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यहाँसम्म पुग्ने सडक स्तरोन्नति गर्न सके मात्रै पर्यटकको आवागमन वृद्धि हुने थियो ।”

अप्ठेरो भएका स्थानमा ढलान तथा नाली निर्माण गर्ने कार्यहरु भइरहेकाले त्यहाँसम्म पुग्न सहज हुन्छ । यहाँको आकाशमा उड्नका लागि देशका विभिन्न भागसहित विदेशबाट समेत पर्यटक आउने गरेका छन् । मन्साङकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँको पूर्वाधार निर्माणमा जोड दिइएको मन्साङकोट पार्क संरक्षण समितिका अध्यक्ष एकनारायण काफ्लेले बताए ।

गत आर्थिक वर्षमा गण्डकी प्रदेशको वन मन्त्रालयबाट पूर्वाधार निर्माणमा रु १५ लाख विनियोजन भएको थियो । उक्त रकमले अपूरो रहेको भवनलाई पूर्णता दिनाका साथै झ्याल ढोका, रङ्गरोगन, चौपारी निर्माण, छेकबारसहित बाटो, होर्डिङ बोर्डहरु निर्माण गरिएको उनले जानकारी दिए । “मन्साङकोटबाट व्यावसायिक प्याराग्लाइडिङ सुरुआत भएसँगै गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ”, अध्यक्ष काफ्लेले भने, “कृषि र पशुपालनका क्षेत्रमा छुट्टै पहिचान बनाएको मन्साङकोट पछिल्लो समय पर्यटनसँग पनि जोडिन पुगेको हो ।”


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?