Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सुनसरीमा सुरक्षा पोष्ट राख्न अनुमति दिइएको छैन : गृहमन्त्री श्रेष्ठ


१० असार, काठमाडाैँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापाको केचनाकबलमा साइरन जडान र सुनसरीमा सुरक्षा पोष्ट राख्न सरकारले कुनै पनि अनुमति नदिइएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रतिप्रश्नको जवाफमा उनले सीमा क्षेत्रलाई थप व्यवस्थित र चुस्त दुरुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

उनले सीमा सुरक्षाका लागि हालसम्म दुई सय ५० बिओपी स्थापना गरिएको र थप स्थानमा पनि स्थापना हुने जानकारी दिँदै अर्थतन्त्रमा देखा परेका केही समस्याका कारण आवश्यक सङ्ख्यामा बिओपी भवन बनाउन तत्काल जटिलता रहेको बताए ।

उनले सशस्त्र प्रहरी बल सीमा सुरक्षाका लागि परिचालन भएको भए पनि बसोबासका लागि राम्रो व्यवस्था नभएका कारण प्रभावकारी रुपमा परिचालन गर्न कठिनाइ भएको स्वीकार गरे । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उचित बसोबासको प्रबन्धका लागि समेत सरकार दत्तचित्त भएर लागेको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले प्रतिजासुसी संयन्त्रका बारेमा कुनै औपचारिक छलफलमा प्रवेश नगरेको जानकारी दिँदै उनले अनौपचारिक रुपमा भने बेला बेलामा छलफल भएको उल्लेख गरे । नियोजित रुपमा धर्म प्रचार र परिवर्तनका सन्दर्भका केही कारबाही भएको जानकारी दिँदै उनले धर्म परिवर्तनका सन्दर्भमा सरकार गम्भीर रहेको बताए ।

सहकारी पीडितको उजुरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालयको कोठामा भरिएको जानकारी दिँदै सो समस्या समाधानमा सरोकारवाला मन्त्रालयकोसमेत पहलमा आवश्यक निर्णय लिइने जानकारी दिए । सिआइबीको नयाँ भवन नभएका कारण काम कारबाहीसमेत प्रभावित भएकाले नयाँ भवन निर्माणका लागि जग्गाको खोजी भइरहेको उनको भनाइ छ ।

ट्राफिक प्रहरीको स्वास्थ्य अवस्था र काममा सहजताका लागि थप प्रोत्साहनको प्रबन्ध गरिएको, सुरक्षा निकायमा योग र ध्यानलाई नियमित गराउन लागिएको उनले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुल्ला रहेको र दोषीमाथि कारबाही हुने उनको दाबी छ । यस्तै, विगतका आर्थिक अनियमितता र भ्रष्टचारमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाइने तथा कोही कसैलाई पनि नछाडिने उनले प्रतिबद्धता व्यक्त गरे ।

दैनिक जनजीवन चलाउने सामग्री सीमा नाकाबाट ल्याउनका लागि भन्सार नाकामा सहज बनाइएको भए पनि चोरी निकासी भने पूर्ण रुपमा नियन्त्रण गरिने उनको भनाइ छ ।

सरकारले गाँजालाई औषधिजन्य उपयोगका लागि अध्ययन अगाडि बढाउने विषयलाई सरकारको नीति तथा कार्यक्रममा राखिएको भए पनि नयाँ कानुन नबन्दासम्म विद्यमान कानुन नै कार्यान्वयन हुने बताए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रालय मातहत ल्याउन प्रधानमन्त्रीसँग छलफल भइरहेको सदनलाई जानकारी दिए ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?