Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

युवापुस्ताको रुचिमा छैन बाजा बजाउने पेसा


१० असार, स्याङ्जा । दोस्रो पुस्ताले रुचि नदेखाउँदा पछिल्लो समय यहाँको बाजा बजाउने पेसा हराउने अवस्था देखा परेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–८ बङ्रातीमा पुर्खौंदेखि परियार समुदायले बजाउँदै आएको नौमती बाजा पछिल्लो समय नयाँ पुस्ताले अँगाल्न नसक्दा सो पेसा हराउने अवस्था देखिन थालेको हो ।

बङ्रातीका बाजा भनेपछि यसको छुट्टै महत्व र माग हुँदाहुँदै पनि नयाँ पुस्ताले यो पेसाप्रति रुचि नदेखाएकाले भोलिका दिनमा हराउँछ कि भन्ने चिन्ता बङ्राती कालिका बाजा समूहका अध्यक्ष दलबहादुर परियारको छ ।

“लगनका बेला र शुभकार्यमा नौमती बाजाको माग हुने गरेको छ”, उनले भने, “अरु बेला काम पाइँदैन, लगनका बेलामा मात्रै बाजा बजाएर दैनिक चल्ने कुरै भएन ।” बाजा बजाएर दैनिकी चलाउन गाह्रो हुने, नियमित आम्दानी नहुने, मेहनत अनुसारको पारिश्रमिक नपाइने भएकाले युवा पुस्ताले रुचि नदेखाएको उनले बताए ।

“गाउँमा युवाको सङ्ख्या त अधिक छ, यो पेसाबाट आम्दानी कम हुने भएकाले टिक्न सक्ने अवस्था भएन, गाउँका अहिले करिब ३५–४० युवा वैदेशिक रोजगारीमा छन्, यहाँका युवाले बाजा बजाउने सीप नै नजानेका होइनन्”, उनले भने, “सीप त जानेका छन्, तर यसबाट भएको आम्दानीले घर खर्च चलाउनै मुस्किल भएपछि टिकिराख्न सकेनन् ।”

दिन तथा दूरीका हिसाबले नजिक तथा टाढाको दर फरक हुने गरेको समूहका सदस्य तुलवीर परियार बताउँदै नजिकदेखि टाढा तथा समयानुसार न्यूनतम रु २० देखि ४० हजारसम्म पारिश्रमिक लिने गरेको उनले बताए । “अहिले बाजा समूहमा १२ जना ४०–४५ वा सोभन्दा माथिका मात्रै सहभागी छौँ”, उनले भने, “समूहमा युवा पुस्तालाई हिँडाउन सकेका छैनौँ, युवा बाजाभन्दा पनि वैदेशिक रोजगार वा अन्य व्यवसायतर्फ आकर्षित भएका छन् ।”

केही वर्ष पहिले गल्याङ नगरपालिकाले नौमती बाजा सेट उपलब्ध गराएको थियो । बाजा पुराना भएकाले बजाउन समस्या हुन थालेको समूहका सदस्य लोकबहादुर परियारले बताए । बाजा समूहका लागि नयाँ बाजा र समूहको पोशाक आवश्यक रहेको उनले बताए ।

“बाजाको माग भएका स्याङ्जासहित छिमेकी जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन जान्छौँ”, उनले भने, “बाजाको माग नभएका बेला घरमै सिलाइकटाइ गर्ने गरेका छौँ ।” बिहान कमाएर साँझ खानपर्ने बाध्यता रहेकाले नयाँ बाजागाजा थप गर्नसक्ने अवस्था नरहेको सदस्य लोकबहादुरले बताए ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?