Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

घोडेपानीमा गुराँस ‘पार्क’


१० असार ,म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ । गुराँसे जङ्गलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पार्क बनाइएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

“उद्यान बनाउन डिभिजन वन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो”, उनले भने, “ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाइएको छ ।”

घना गुराँसे जङ्गलबीचमा रहेको पार्क अवलोकन गर्न जाने पर्यटकका लागि शौचालय, चरा अवलोकन गर्नेहरूका लागि बेञ्च, पानी पर्दा, गर्मीमा ओत लाग्ने गोलघर बनाइएको कालीसार गुराँस पार्क निर्माण समितिका अध्यक्ष सुशील पुनले बताए । “पार्कभित्र ढुङ्गा बिछ्याएर पदमार्ग बनाइएको छ”, उहाँले भन्नुभयो, “पार्कबाट गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।”

पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ । अघिल्लो वर्ष यही क्षेत्रमा हर्स राइडिङ ट्रेल, साइक्लिङ ट्रेल र वर्ड वाचिङ प्वाइन्ट बनाइएको थियो । घोडेपानी–पुनहिल भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि गुराँस पार्क सहयोगी बन्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए ।

घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घन्टा गुराँसे जङ्गलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ । घान्द्रुकबाट घोडेपानी–नागीसम्म सबैभन्दा ठूलो लालीगुराँसको जङ्गल छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)को अभिलेखअनुसार नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ । त्यसमध्ये घोडेपानी क्षेत्रको जङ्गलमा आठ प्रजातिका पाइन्छन् । पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीवराह ताल पुगिन्छ ।

फर्कँदा प्यारीवराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सक्छन् । प्यारीवराहबाट घोडेपानीसम्मको घोडाचढी (पोन्नी ट्रेल)मा जान सकिन्छ । प्रदेश सरकारले अघिल्लो वर्ष रु २५ लाख खर्चेर घोडेपानीबाट कालीसार (गुराँस पार्क) हुँदै प्यारीवराह ताल पुगेर भल्खरा हुँदै घोडेपानी फर्कन करिब सात किमी साइकल लेन, हर्स राइडिङ ट्रेल र प्यारीवराह ताल फन्को लगाउने पैदलमार्ग बनाएको थियो ।

डिभिजन वन अधिकृत मनोज रानाभाटले पार्कले पर्यापर्यटनमा योगदान पुर्याउने र घोडेपानीमा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास गरे । डिभिजन वन कार्यालयले तीन वर्षअघि पनि अन्नपूर्ण–७ रिमागाउँको सिरानमा रहेको नेसरानी सामुदायिक वनको ४० रोपनी घेराबन्दी गरी गुराँस पार्क बनाएको थियो । फूलबारीमा रु १० लाख ७० हजार बजेटमा पार्क क्षेत्रलाई तारबार गरी छुट्याउने, गुराँस पार्क क्षेत्रमा एउटा गोलघर बनाइएको छ ।


प्रकाशित मिति: १० असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?