Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

उखरमाउलो गर्मीमा छिन-छिनमा बिजुली जाँदा सास्ती


६ असार, बाँके । भगवती रिजाल खुद्रा व्यावसायी हुन् । उनी बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आएकी छिन् । बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ । रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा हुन्छिन् ।

चार वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएकी रिजाल विगत वर्षभन्दा यसवर्ष विद्युत् आपूर्ति अनियमित हुँदा व्यापारमा घाटा लागेको बताउछिन् ।

“चार वर्षमा रेफ्रिजिरेटर यसअघि कहिल्यै बन्द भएन”, उनले भनिन्, “कम भोल्टेजका कारण फ्रिज नचेलेको हुनाले यो गर्मीमा चिसो बनाउन राखिएको पेयपदार्थ नै चिसो नभएर बेच्न पाएकी छैन । ग्राहक आउँछन् सोध्छन् । चिसो छैन भन्नुपर्ने हुन्छ ।”

भगवतीजस्तै सोही वडामा किराना पसल चलाउँदै आएका रामचन्द्र गिरीको व्यथा छ । बिजुली आउने जाने हुँदा फ्रिज चल्न पाएको छैन । “गर्मीमा धेरै बिक्री हुने भनेकै दही हो । तर बिजुली झ्याप्प आउने र जाने गर्दा दही पग्लिएर दूधजस्तै हुन्छ”, उनले भने, “दूधजस्तै दही ग्राहकले किन्न मान्दैनन् ।”

गिरीले किराना पसलमा हरियो सागसब्जी पनि बेच्ने गर्छन् । तर चर्को घामका कारण हरियो तरकारी सुकेर खेर जाँदा तरकारीबाट नाफा कमाउन नसकेको उनले बताए।

“बिहानै हाटबजार गएर ल्याएको हरियो तरकारी चर्को घामले सुकाइदिन्छ । साग सुकेर फाल्नुपरेको छ”, गिरीले भने । गर्मीको सयममा विद्युत् प्राधिकरणले बेलाबेला बत्ती काटिरहने तथा कम भोल्टेजका कारण व्यापार गर्न कठिन हुँदै गएको उनले बताए ।

कम भोल्टेजका कारण बेकरी व्यवसायीको अवस्था झनै दयनीय छ । बेकरी सञ्चालक रामकिशोर बर्मा अत्यधिक गर्मीका कारण व्यापार चौपट भएको बताउछन् । नेपाल विद्युत् प्राधिकरणले अनियमितरूपमा विद्युत् प्रवाह गरेपछि उनको व्यवसाय धरापमा परेको हो । “बेकरीमा केकका प्रकार धेरै हुन्छन्, चौबीसै घन्टा फ्रिजको आवश्यकता पर्दछ”, बर्माले भने, “एक महिनायता एउटा फ्रिज नै बिग्रिएको छ । अर्को फ्रिजले पनि राम्रोसित काम गर्न सकिरहेको छैन ।”

विद्युत् सेवा प्रवाह भरपर्दो नभएको भन्दै विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले विद्युत् कार्यालय घेराउ गर्दै आएका छन् । प्राधिकरणको नेपालगन्जस्थित वितरण केन्द्रलाई चार बुँदे ज्ञापनपत्र बुझाइएको स्थानीय नमस्कार शाहले बताए ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?