Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

तयारी अवस्थामा रहन आग्रह


६ असार ,ताप्लेजुङ । विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह गरेको छ ।

मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, उद्धार र राहतका कार्यलाई ढिलो हुन नदिन तयारी हुनुपर्ने निष्कर्षसहित सबै निकायलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए ।

खोज र उद्धारका कार्यसँगै निरन्तर समन्वयमा रहनसमेत उनले अनुरोध गरेका छन् । मङ्गलबार बसेको बैठकले पूर्ण क्षति भएको प्रति घरपरिवारलाई छ बन्डल कर्कटपाता उपलब्ध गराइदिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बाढीपहिरामा परी मृत्यु भएका आफन्त तथा नजिकको हकदारलाई र आंशिक तथा पूर्णरूपमा घर क्षति भएकालाई मापदण्डबमोजिम राहत उपलब्ध गराउनसमेत उक्त मन्त्रालयलाई अनुरोध गरिएको छ । यस्तै विस्थापित परिवारलाई तत्काल रेडक्रसबाट गैर खाद्य सामग्री उपलब्ध गराउने, अन्नपातसहितको क्षति भएका परिवारको गुजाराका लागि स्थानीय तहले सहयोग गर्ने, घाइते भएकालाई स्थानीय अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने, उपचारका लागि आर्थिक सहायता आवश्यक परे प्रदेश सरकारसँग माग गर्नेसमेत निर्णय भएको छ ।

समितिको निर्णयानुसार हरेक पालिकाले विस्थापित परिवारको तथ्याङ्क यकिन गरी तीन दिनभित्रै जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्ने भएको छ । मेची राजमार्गस्थित पाँचथरको हेवाखोला बाढीले बगाई यातायात सेवा अवरुद्ध भएकाले अत्यावश्यक सामान ढुवानी गर्न परे तुइन (घिर्लिङ) को व्यवस्थापन गर्न प्रदेश सरकारसँग अनुरोध गर्नेसमेत निर्णय भएको छ ।

यसैबीच विभिन्न व्यक्ति, सङ्घसस्थाबाट राहत सङ्कलन र वितरणको कार्य सन्तुलित, पारदर्शी नहुने हुँदा विपद् व्यवस्थापन समितिको स्वीकृतिमा एकद्धार प्रणालीबाट सङ्कलन गरी स्थानीय तहले वितरणको व्यवस्था गर्ने निर्णय भएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौँलाई त्रिपाल, कम्बल, भाँडाकुडा र अत्यावश्यक औषधि माग गर्ने निर्णय गरिएको छ ।

बाढीपहिरामा परी तीन जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता छन् । समितिका अनुसार जिल्लामा सरकारी कार्यालय, निजी घरसहित ४३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । मनसुन अझै सक्रिय रहेकाले नदी किनार तथा जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?