Trending
>>   आज मिति २०८१ साल मङ्सिर ११ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छ : देउवा >>   राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह >>   सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण विक्रम शाही शीर्ष स्थानमा >>   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त >>   ब्लाइण्ड टी २० विश्वकपमा नेपालको पहिलो जित >>   मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री विरुद्ध मुद्दा नचल्ने निर्णय >>   सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता >>   चीन भ्रमणमा ऋणसम्बन्धि कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली >>   माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

काभ्रेपलाञ्चोकमा सुरुङमार्गको सम्भाव्यता अध्ययन


५ असार ,काभ्रे । काठमाडौँ उपत्यकाको ललितपुर र भक्तपुरबाट काभ्रेपलाञ्चोक जोड्ने गरी दुई सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ । सरकारको चालु आर्थिक वर्षको बजेटबाट ‘चार भञ्ज्याङ, चार सुरुङ मार्ग’ कार्यक्रमअन्र्तगत दुई सुरुङ मार्गको अध्ययन थालिएको हो । ललितपुरको गोदावरी तथा काभ्रेपलाञ्चोकको पनौती (मानेदोभान) सडक खण्डमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ ।

यसका लागि अध्ययनको मस्यौदा प्रतिवेदन तयार भएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्र ललितपुरले जनाएको छ । सरकारको चालु आवको योजनाअन्तर्गत गोदावरी–पनौती सुरुङमार्ग पनि एक हो । अध्ययनले उक्त सडक खण्डमा सुरुङमार्ग बनाउन उपयुक्त हुने देखिएको जनाएको छ । केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर दीप बाराहीका अनुसार गोदावरी–पनौती (मानेदोभान) सडक खण्डमा तीन दशमलव छ किलोमिटर दूरीको सुरुङ मार्ग बनाउन सकने प्रारिम्भक मस्यौदा कार्यालयमा पेस गरिएको छ ।

कार्यालयले थप अध्ययनको चरणमा रहेको जनाएको छ । चालु आवको रु १० लाखमा उक्त अध्ययन थालिएको थियो । यस्तै अरनिको राजमार्गलाई छोटो दूरी बनाउन परिकल्पना गरिएको भक्तपुरको ताथली तथा काभ्रेपलाञ्चोकको रविओपी हुँदै पाँच खालसम्मको सुरुङमार्गको सम्भाव्यताको प्रारम्भिक अध्ययनको काम सुरु हुने जनाइएको छ । केन्द्रका इञ्जिनियर सोनी श्रेष्ठका अनुसार ताथली–रविओपी–पाँचखाल सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि कन्सलटेन्ट छनोट भएको छ भने थप प्रक्रिया अघि बढाइने भएको हो । ताथली–रविओपी सुरुङमार्ग भने करिब चार दशमलव नौ किलोमिटरको हुने अनुमान गरिएको छ ।

ताथली–रविओपी सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि चालु आवमा रु ५० लाख बजेट विनियोजन गरिएको थियो । उक्त सुरुङमार्ग निर्माण भएमा अरनिको राजमार्ग हुँदै छिमेकी चीनको सीमा जोड्न करिब ३५ किलोमिटर सडक छोटिने छ । सरकारले चालु आवका लागि २०७९ जेठ १५ गतेको बजेट भाषणमा काठमाडौँ उपत्यकाको भञ्ज्याङतर्फ छोखा–छहरे, गोदावरी–पनौती र साँगा–बनेपा खण्डको सुरुङमार्ग निर्माण सम्भाव्यता अध्ययन गर्ने तथा सुरुङमार्ग विकास कार्यक्रमका लागि एक अर्ब १९ करोड रकम विनियोजन गरिएको उल्लेख गरेको थियो ।

अरनिको राजमार्गअन्र्तगत प्रस्ताव गरिएको साँगा–बनेपा सुरुङमार्गको विषय भने चालु आवको करिब अन्त्यसम्म उठान गरिएको छैन । जहाँ हाल छ लेनको सडक निर्माण सुरु गरिएको छ । यसैबीच धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले जिल्लाको बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन थालेको छ । गाउँपालिकाको ४ नं वडास्थित सेतीभीरको सुक्खा पहिरोलाई छलेर सुरुङमार्ग निर्माण गर्ने गरी डिजाइनको काम भइरहेको जनाइएको छ ।

वडा नं २ को दुर्लुङखोला–बाइस सय ढुङ्गा हुँदै वडा नं १ को च्याम्राङबेँसी चौतारासम्म सुरुङमार्ग निर्माण गर्ने गरी अध्ययन गरिएको विश्वविद्यालयको सिभिल इञ्जिनियरिङ विभाग प्रमुख डा श्यामसुन्दर खड्काले बताए । उनका अनुसार उक्त सुरुङ मार्गको प्रारिम्भक अध्ययन गर्ने क्रममा करिब एक हजार तीन सय मिटर र एक हजार २५० मिटर लम्बाइको दुई मार्गको डिजाइन तयार भइरहेको हो । उनले अध्ययनको अन्तिम प्रतिवेदन बनाउने क्रममा आठ मिटर चौडाइ वा राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार ११ मिटर चौडाइको बनाउने भन्नेबारे छलफल भइरहेको बताए ।

यस्तै केयूले पछिल्लो समय विश्वविद्यालय परिसरमा सडक सुरुङ मार्ग निर्माणको काम गरिरहेको छ । विश्वविद्यालयले अनुसन्धान प्रयोजनका लागि विश्वविद्यालय परिसरमा निर्माण सुरु गरेको सुरुङ मार्गका प्रवेशद्वारतर्फ र आउट लेट (बाहिर निस्कने) ठाउँतर्फ सुरुङ निर्माण भइरहेको विश्वविद्यालयका सिभिल इञ्जिनियरिङ विभाग प्रमुख डा खड्काले बताए । उनले विश्वविद्यालयको आफ्नै केही रकम र केही परियोजनाको सहायताबाट सुरुङ निर्माणको काम भइरहेको जानकारी दिए ।

खड्काले भने, “केयू परिसरमा निर्माण भइरहेको सुरुङमार्ग विश्वविद्यालयका विद्यार्थी तथा अन्यलाई नेपालको मध्यपहाडी तथा विभिन्न स्थानमा त्यहाँको भू–बनोट अनुसार कसरी र कस्तो सुरुङ मार्ग बनाउन सकिन्छ भनेर अध्ययन गर्ने स्थलका रूपमा यो सुरुङमार्ग रहने अपेक्षा गरेका छौँ ।” विश्वविद्यालयमा एक जनाले विद्यावारिधि तह र पाँच जनाले स्नातकोत्तर तहमा सुरुङ मार्गमा नै अध्ययन गरिरहेका छन् ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?