Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

अङ्कको सट्टा प्रदेशको नाम राख्न सभामुख घिमिरेको निर्देशन


५ असार, काठमाडाैँ । आगामी आर्थिक वर्षको बजेटमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएकामा त्यसलाई सच्याउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम नखुलेको भन्दै सांसदहरुले विरोध जनाएका थिए । विरोधपछि केही बेरका लागि स्थगित बैठक सभामुखको यस्तो निर्देशनपछि पुनः सुरु भएको छ ।

“सम्बन्धित मन्त्रालयबाट वार्षिकरूपमा सम्पादन हुने कार्यक्रम समावेश हुने पुस्तिकामा उल्लिखित केही विषयहरु, खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि म पुनः निर्देशन गर्दछु”, सभामुख घिमिरेले निर्देशन दिँदै भने, “प्रदेशको नाम हुनुपर्नेमा अङ्क उल्लेख भएको र यस विषयमा सांसदहरुले प्रश्न उठाइसकेपछि अङ्कको सट्टा प्रदेशको नाम राखी सुधार गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु ।”

उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि यस्तो निर्देशन दिएकोमा  सच्याइएको विनियोजन विधेयकमा पनि फेरि प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए ।

सांसद सूर्यबहादुर थापा क्षेत्री, छविलाल विश्वकर्मा, रमेश लेखक, रघुजी पन्तलगायतले विधेयकमा प्रदेशको नाम उल्लेख नभएको विषय उठाएका हुन् । विनियोजन विधेयकमा प्रदेशको नाम उल्लेख नभएकामा त्यसलाई सच्याएर ल्याउन सभामुखमार्फत रुलिङ गर्न सांसदहरुले माग गरेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । १५ मिनेटका लागि स्थगित भएको बैठक करिब दुई घण्टा ढिलो गरी पुनः सुरु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल सुरु गर्ने कार्यसूची छ । प्रतिनिधिसभाको आजको बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी विनियोजित  शीर्षकमाथि समूहगतरूपमा छलफल चल्नेछ ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?