Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला


५ असार ,म्याग्दी । म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् । गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण भएको हो ।

सडक निर्माण भएपछि म्याग्दीको सिङ्गा तातोपानीबाट ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडा दुई घन्टामै पुग्न सकिने भएको मङ्गला–४ धापुङका उमेश विश्वकर्माले बताए । “यसअघि मङ्गलाको अर्मन–किमचौर हँुदै ताराखोला पुग्न चार घन्टा लाग्ने गरेको थियो”, उनले भने, “बीस किलोमिटर दूरीको सडक निर्माण भएपछि तातोपानीबाट दुई घन्टामै ताराखोला पुग्न सकिने भएको छ ।”

ताराखोलाका बासिन्दालाई बागलुङको सदरमुकाम पुग्न पनि यो सडक छोटो र छिटो भएको छ । दुई पालिकाका करिब एक हजार घरधुरी यो सडकबाट प्रत्यक्ष लाभान्वित भएका छन् । आवतजावत, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीका साथै अस्पताल पुग्न छिटो र सहज भएको धापुङका मनबहादुर थजालीले बताए ।

सडकमा जिप, ट्र्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन् । तातोपानीबाट सिर्खुसम्मको सडक निर्माणमा चालु आर्थिक वर्षमा मङ्गला गाउँपालिका र गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले तीनवटा खण्डमा आयोजना सञ्चालन गरेका थिए । चालु आर्थिक वर्षमा प्रदेश सरकारको रु १० लाख र मङ्गला गाउँपालिकाको रु १४ लाख अनुदानमा धापुङ–गुन्थाने–सिर्खु खण्डको दुई किलोमिटर पाँच सय मिटर मार्ग खोलिएको छ ।

न्यूखोला–एक्लेचिहान–महेश–धापुङ सडकअन्तर्गत करिब तीन सय मिटर भिरमा मार्ग खोल्न यस वर्ष प्रदेश सरकारको रु १० लाख र गाउँपाकिलाको रु १० लाख लगानी भएको छ । प्रदेश सरकारबाट सडक स्तरोन्नतिका लागि थप रु १० लाख लगानी भएको उपभोक्ता समितिले जनाएको छ । यसैगरी पखेर–जल्केनी–टुनीडाँडा हुदै महेश जोड्ने तीन किलोमिटर सडकको मार्ग निर्माण गर्न प्रदेश सरकारबाट रु २५ लाख लगानी भएको छ ।

यस आयोजनाका लागि म्याग्दी क्षेत्र (२) बाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु १५ लाख थपिएको छ ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?