Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

‘लम्पी स्किन’ नियन्त्रणका लागि गोठ–गोठमा पशु प्राविधिक


४ असार, काठमाडाैं । पछिल्लो दुई महिनायता पर्वतमा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्रगतिमा फैलिएको छ । यहाँका सातवटै पालिकामा ‘लम्पी स्किन’ फैलिएपछि पशुपालक किसान समस्यामा परेका छन् । गत चैत २८ गते फलेवास नगरपालिका–९ भँगराको सिरुबारीमा किसानले पालेको एउटा गोरुमा उक्त रोग देखा परेको थियो । उक्त गोरुलाई आइसोलेशनमा राखी उपचार गरिएको थियो । उपचार पश्चात उक्त गोरुमा लागेको रोग १६ दिनमा निको भयो । भँगरासँगै त्यसपछि वडा नं ६ देवीस्थानमा पनि लम्पी स्किन रोग देखिन थाल्यो ।

देवीस्थानलगायत क्रमशः अहिले यो रोग जिल्लाभर फैलिएको छ । फलेवास नगरपालिकाका पशु विकास शाखा प्रमुख प्रताप पौडेलका अनुसार फलेवासमा तीन सयभन्दा बढी गाईगोरुमा यो रोग देखा परेको छ । हालसम्म पाँच गाई मरेका छन् । पौडेलका अनुसार भैँसीमा यो रोग हालसम्म देखा परेको छैन ।

फलेवास नपाले लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक बजेट रकमान्तर गरेको छ । नगरपालिकाले पशु विकास शाखाअन्तर्गत आकस्मिक पशु रोग नियन्त्रण कार्यक्रममार्फत रु तीन लाख विनियोजन गरेर काम गदै आएको शाखाले लम्पी स्किन रोग बढेसँगै बजेट अभाव भएपछि सङ्घीय राजस्व बाँडफाँड शीर्षकबाट थप रु पाँच लाख विनियोजन गरेको हो ।

सुरुको चरणमा पशु विकास शाखामार्फत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले रोग नियन्त्रणका लागि फिनेल, भिर्कोन लगायतका रसायन निःशुल्क वितरण गरिसकेको छ । नेपालमा सुरुवाती चरणमा लम्पी स्किन रोगका लागि खोपको मान्यता थिएन । वैशाखको अन्तिमतिर स्वीकृत पाएसँगै नगरपालिकाले निःशुल्क खोप खरिदका लागि बजेट विनियोजन गरेको पौडेलले बताए ।

लम्पी स्किन रोग तीव्र गतिमा फैलिन थालेको र यसको उपचार पद्दति महँगो हुँदा पशुपालक किसानलाई उपचारमा व्यापक आर्थिकभार पर्ने भएकाले नगरपालिकाले खोप खरिद गरी निःशुल्क रुपमा उपचार गर्न थालेको पशु विकास शाखा प्रमुख पौडेलको भनाइ छ । शाखाले उक्त रोगको नियन्त्रण र रोकथाम गर्नका लागि १० जना प्राविधिकलाई किसानको गोठगोठमा खटाएको छ । लम्पी स्किन रोग लागेका पशुको निरन्तर जाँच तथा निःशुल्क रुपमा उपचार खट्टिएको पशु प्राविधिकले बताएका छन् ।

हालसम्म एक हजार तीन सय पशुमा निःशुल्क रुपमा खोप लगाइएको नगरपालिकाले जनाएको छ । पशुमा रोग लागेर चिन्तित बनेका पशुपालक किसान निःशुल्क उपचारसहित खोप पाउँदा हर्षित भएका छन् । काप्री पक्स भाइरसको सङ्क्रमणबाट विशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिन्छ ।

लम्पी स्किन रोग लागेका गाईबस्तुमा उच्च ज्वरो आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण देखिएको छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन् । यसका साथै कचेरा निकाल्ने, सिगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण देखिएको पौडेलले बताए ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?