Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

दाङ र कालीकोटमा पनि देखियो दादुरा


३ असार, दाङ । दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा विबेककुमार लाल दाङको बङ्गलाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा चार जनामा दादुराको सङ्क्रमण देखिएको जानकारी दिए ।

उनले ती दुवै ठाउँका शङ्कास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दादुराको सङ्क्रमण पुष्टि भएको बताए । कालीकोटमा नौ जना र दाङका आठ जना शङ्कास्पद बिरामीको नमुना परीक्षण गरिएको थियो ।

यसअघि जेठ २४ गते काठमाडौँको गोकर्णेश्वरको एक विद्यालयमा पनि चार जनामा दादुराको प्रकोप देखिएको थियो । महाशाखाका निर्देशक डा लालले दादुराको प्रकोप प्रभावित ती ठाउँमा निगरानी तथा रोकथाम गरिरहेको बताए ।

नेपालमा अहिलेसम्म १७ जिल्ला मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कालीकोट, कैलाली, कञ्चनपुर र बाजुरा मा दादुरा प्रकोप देखिएको छ ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा हालसम्म कूल एक हजार २१ दादुराका बिरामी भेटिएका छन् । बाँकेको नेपालगञ्जमा दादुराबाट एक जनाको मृत्यु भएको छ । सरकारले प्रकोप प्रभावित जिल्लामा हालसम्म कूल दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ ।

परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षभित्र दादुरा प्रकोपबाट अतिप्रभावित नौ जिल्ला (मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरा) मा दादुरा खोप अभियान सञ्चालन गरेको छ । ती जिल्लामा १६ लाख ८१ हजार आठ सय ५१ बालबालिकालाई दादुरा खोप लगाउने लक्ष्य लिएको महाशाखाका निर्देशक डा लालले जानकारी दिए ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?