Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

विश्व परिप्रेक्ष्यमा नेपालको पत्रकारिताबारे अध्ययन गरिएको पुस्तक सार्वजनिक


२ असार ,काठमाडौँ । विश्वव्यापी परिप्रेक्ष्यमा नेपालका सञ्चारमाध्याम र पत्रकारिता क्षेत्रको अवस्थितिबारे विस्तृत अध्ययन समेटिएको पुस्तक ‘ग्लोबल प्रस्पेक्टिभ अन जर्नालिजम इन नेपाल’ को नेपाली संस्करण सार्वजनिक भएको छ । काठमाडौँस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक औपचारिक कार्यक्रमका बीच पुस्तक सार्वजनिक भएको हो ।

नेपालको पत्रकारिता र सञ्चारमाध्यमका समसामयिक अभ्यासमा केन्द्रित अनुभवजन्य अध्ययन, आलोचनात्मक समीक्षा, सैद्धान्तिक र दार्शनिक विश्लेषणसहितका विषयवस्तु पुस्तकमा समेटिएका छन् । पुस्तक सार्वजनिक गर्दै प्राध्यापक पी खरेलले नेपालको पत्रकारिताको सैद्धान्तिक र व्यवहारिक अनुसन्धानका लागि यो पुस्तक पथप्रदर्शक हुने बताए ।

“गहन अनुसन्धानबाट तयार पारिएका शोध र विज्ञहरूको ज्ञान समेटिएको यो पुस्तकले नेपालको समग्र सञ्चार जगत् र पत्रकारिता क्षेत्रको सैद्धान्तिक र व्यवहारिक उन्नयनमा योगदान गर्ने अपेक्षा छ”, उनले भने । पत्रकारिता क्षेत्रमा राजनीतिक प्रभाव देखिन थालेको उल्लेख गर्नुहुँदै प्राध्यापक खरेलले नेपालको पत्रकारिता क्षेत्रको सुधारका लागि आलोचनात्मक ढङ्गले जानुपर्ने बताए ।

सोही कार्यक्रममा प्राध्यापक रामकृष्ण रेग्मीले पत्रकारिता क्षेत्रका तीन पुस्ताले योगदान गरेको यो पुस्तकका थप संस्करण पनि ल्याउन आश्यक रहेको बताए । पछिल्लो समय पठन संस्कृति हराउँदै गएको उल्लेख गर्दै रेग्मीले सामाजिक सञ्जाल र न्यू मिडियाको प्रयोगले ज्ञान र सूचनाको पुस्तान्तरण हुन नसकेको बताए । “अहिले पठन संस्कृति हराउँदै गएको छ ।

मानवजातिले सँगालेको अनुभव र ज्ञान एक पुस्ताबाट अर्को पुस्तासम्म पुर्याउनका लागि किताब महत्त्वपूर्ण छ”, उनले भने । प्राध्यापक कुन्दन अर्यालले पछिल्लो समय जनमानसमा असम्पादित सूचनाहरू बढी जाने गरेकाले त्यसलाई रोक्नु चुनौतीपूर्ण रहेको बताए । “अहिले सामाजिक सञ्जालको प्रयोग र सञ्चारमाध्यममा आएका नयाँ प्रविधिले सम्पादन नै नभएका सूचना नागरिकसम्म पुग्छन्, यो चुनौतीपूर्ण छ”, उनले भने ।

पत्रकारिता र सञ्चार क्षेत्रका २१ जना लेखकका शोधपूर्ण लेख समेटिएको यो पुस्तक भानुभक्त आचार्य र श्याम शर्माले सम्पादन गरेका हुन् । सम्पादक भानुभक्त आचार्यले नेपाललाई ‘केसस्टडी’ बनाएर विश्व परिवेशमा आधारित भई पुस्तकका विषयवस्तु राखिएको बताए । “नेपालको पत्रकारिताले संसारलाई भन्नुपर्ने केही कुरा छन् भन्ने लागेर यो पुस्तक लेखन सुरु भएको थियो । पुस्तकका विषयवस्तु नेपाली पाठकलाई भन्दा पनि अन्तर्राष्ट्रिय जगत्लाई जानकारी दिने उद्देश्य हो”, आचार्यले भने ।

पुस्तकमा भानुभक्त आचार्य, श्याम शर्मा, श्रीमन शर्मा, समीक्षा कोइराला, लक्ष्मण हुमागाईँ, तुलसी आचार्य, भगीरथ योगी, जगन कार्की, रामकृष्ण रेग्मी, सुजीना शाक्य, पियुष मिश्र, कुन्दन अर्याल, कवि अधिकारी, लेखनाथ पाण्डे, उषाकिरण रेग्मी, सन्देशदास श्रेष्ठ, हर्षमान महर्जन, विमला थपलिया, प्रवेश सुवेदी, रामहरि तिमिल्सिना र पूर्णबहादुर नेपालीका शोधपूर्ण लेख समेटिएका छन् । चार भागमा रहेको पुस्तकमा फरक–फरक विषयका १८ वटा लेख समावेश छन् ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?