Trending
>>   आज मिति २०८१ साल मङ्सिर ११ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छ : देउवा >>   राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह >>   सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण विक्रम शाही शीर्ष स्थानमा >>   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त >>   ब्लाइण्ड टी २० विश्वकपमा नेपालको पहिलो जित >>   मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री विरुद्ध मुद्दा नचल्ने निर्णय >>   सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता >>   चीन भ्रमणमा ऋणसम्बन्धि कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली >>   माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

सूर्यविनायक-धुलिखेल सडक विस्तार : काभ्रेमा भेटिए मध्यकालीन पुरातात्विक वस्तु     


१ असार, काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका  पुरातात्विक वस्तु भेटिएका छन् । उक्त क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेका हुन् ।

पुरातात्विक वस्तु भेटिएपछि तत्कालै पुरातत्व विभागले डोजर लगाउने कार्य रोक्न लगाएको छ । विभागले यसबारे अध्ययनसमेत थालेको छ । विभागले गत जेठ २८ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई बनेपा नगरपालिका–१४ भैँसीपाटीमा डोजर लगाउने कार्य रोक्न पत्राचार गरेको हो । सडक मापदण्डमै प्राचीन सम्पदा फेला परेपछि संरक्षणकर्मीले त्यसमा चासो देखाएका थिए । विभागको भक्तपुरका प्रमुख यमुना महर्जन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेपछि ती संरचना मध्यकालीन समयको रहेको पुष्टि भएको हो ।

महर्जनले उक्त क्षेत्र पुरानो ‘पदमार्ग’ भएकाले नेवारी भाषामा सो स्थानको नाउँ नै ‘फल्चाहिटी’ रहेको बताए । पदमार्गमा पानीको स्रोत भएको ठाउँमा पाटी हुने भएकाले सो स्थानमा पुरानो पाटी, ढुङ्गेधारा र कुवासमेत भेटिएका छन् । यी सम्पदालाई जोगाउन हाल उक्त क्षेत्रमा सडक विस्तारको काम रोकिएको छ । यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचारसमेत गरेको छ ।

सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाका प्रमुख राजेन्द्रमान दासले उक्त स्थानमा सडक निर्माणार्थ कसरी डिजाइन गर्ने भन्नेबारे सर्वपक्षीय सहमति बनाइने बताए । पुरातात्विक सम्पदा भेटिएको ठाउँमा डोजर नचलाउन पाँचखालका अभियानकर्मी श्रीकृष्ण धिमालले विभागमा निवेदन दिएका थिए ।

गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो । उक्त सडकखण्ड तीन बर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कुल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड चार लेनमा विस्तार थालिएको हो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमि रहेको छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको हो ।

 


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?