Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

ब्याडमै सुक्न थाल्यो धानको बीउ


१ असार ,रामपुर (पाल्पा) । खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन् ।

असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन पाएका छैनन् । हरेक वर्ष हिले ब्याड राख्ने गरेकोमा यस पटक पानी अभावमा धुले ब्याड राख्न बाध्य भएको पाल्पाको रामपुरका किसान डोलराज तिवारी बताउछन् । “समयमा पानी पर्न सकेन, धुले ब्याड बनाएर बीउ राखियो, सिँचाइ दिन सकिएको छैन, दिनभर चर्को घामबाट जोगाउन स्याउला तथा बोराले माथिबाट ढाकेर राखिएको छ”, उनले भने । तिवारीका अनुसार कुलोको पानी पालो अनुसार सिँचाई दिन रातदिन धाउनुपरेको छ । प्रयाप्त सिँचाइ दिन नपाउँदा ब्याडमा उम्रदै गरेको बीउ सुक्ने अवस्थामा छन् ।

रातभर खेतमा पानीको पालो कुलेर बस्दासमेत दुई दिनमा एक पटक सिँचाइ दिन सकस भएको बताउछिन्, शोभा आले । “पानीको पालोअनुसार ब्याड सिँचाइ गर्न दिनरात नभनिकन खेतमा धाउनुपरेको छ”, उनले भनिन्, “दुई दिन बित्दासमेत पालो आउन मुस्किल पर्छ, खेतमा बीउ सुक्न लागिसक्यो, आकाशे पानी नपरेपछि किसानले धेरै सास्ती खेप्नु परेको छ ।”रातको समयमा डर त्रासका बाबजुद कुलोको मुहानमा पुगेर पानी ल्याएर सिँचाइ गर्न महिलालाई सकस परेको आलेको भनाइ छ ।

घरधन्दा, छोराछोरीको रेखदेखका बाबजुद रातभर खेतमा पानी पालो पर्खेर बस्न पर्दा महिलालाई धेरै अप्ठ्यारो हुने गरेको मन्जु पङ्गेनीले बताईन् । हिले ब्याड बनाएर बीउ राख्ने यहाँका किसानले अहिले पानी अभावमा धेरैले धुले ब्याड राखेका छन् । असार लागिसक्दा पनि कतिपय ठाउँमा बीउ अझै राख्न पाइएको छैन ।

यस वर्ष मनसुन ढिला सुरु हुँदा धानको बीउ राख्न किसानले धेरै समस्या भोग्नुपरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । उनि भन्छन्, “पानी नपरेपछि कुलो, नहरमा पानीको बहाव घटेको छ, पानीका मुहान, कुँवा सुक्दै गएका छन्, पर्याप्त सिँचाइ भएका मूल, कुँवाको मुहान नजिक भएका खेतमा हिलो गरेर बीउ राखिएको छ भने सिँचाइ कम सुविधा भएका ठाउँमा धुले ब्याड तयार भएका छन् ।” पाण्डेयका अनुसार यस क्षेत्रका आकाशे पानीको भरमा मात्र खेती लगाइने जग्गामा बीउ राख्न अझै बाँकी नै छ ।

कुलो, नहरमा ल्याइएका पानी खेतको मुहानमा पुग्न धौँ धौँ अवस्था छ । बिहानैदेखि रात नपरुञ्जेलसम्म चर्को घाम लागेकाले कुलो तथा नहरमा ल्याइएको पानी खेतसम्म पुर्याउन कठिनाइ छ । ब्याडमा बीउ सुक्ने अवस्था हुन थालेपछि किसानले बोरा, स्याउलाले दिनभर छोपेर राख्ने गरेका छन् । महँगो मूल्यमा बजारका एग्रोभेटमा बीउ खरिद गरेर ब्याड राखेका किसान सिँचाइ पर्याप्त दिन नपाउँदा उम्रन नपाइकन बीउ बिग्रने चिन्तामा छन् ।

वर्षदिन खाने खेती समयमा नै बीउ राख्न नपाउँदा र ब्याडमा पर्याप्त सिँचाइ दिन नसक्दा किसान पिरोलिएका छन् । खेती लगाउने समयमा हरेक वर्ष किसानलाई केही न केही समस्या निम्तिएको हुन्छ । कहिले रासायनिक मलको अभाव त कहिले धानको बीउ अभाव, समयमा वर्षा नपर्नुजस्ता समस्याले किसानलाई सताइरहेको हुन्छ । दिगो र भरपर्दो सिँचाइको व्यवस्थापन हुन नसक्दा बीउ राख्न तथा बालीनाली लगाउन समस्या भइरहेको छ ।

:सुशीला रेग्मी


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?