Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पानी अभावले रोपाइँ गर्न ढिलाइ


१ असार ,भजनी । कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त थिए । आकाशे पानीको भरमा खेती गर्दै आएका उनि यस वर्ष भने फुर्सदमा छन् । समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दैनिकी पानी पर्छ की भन्ने आशमै बित्ने गरेको छ । “खेती लगाउने समय ढल्किन लागेको छ । ब्याड राखेको पनि एक डेढ महिना भइसकेको छ”, चौधरी भन्छन्, “बोरिङ आफूसँग छैन । पालो लगाएर ब्याडमा पानी लगाउनै ठिक्क हुन्छ । आकाशबाट पानी पर्ने सुरसार अझै छैन । धान रोप्न ढिलाइ भएको छ ।”

यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण चौधरीजस्तै अन्य किसानले पनि समयमा धान रोप्न पाएका छैनन् । भजनीको अधिकांश खेतीयोग्य जमिनमा वर्षाको पानीको भरमा खेती हुन्छ । केही किसानले बोरिङ गरी जमिनमुनिको पानी तानेर सिँचाइ गर्दै आएका छन् । भजनीकै हरिराम चौधरीले १५ बिघा क्षेत्रफलमा धान रोप्ने तयारी गरेका छन् । सबै काम सम्पन्न गरेर रोपाइँको तयारीमा बसेका उनि पानीको पर्खाइमा छन् । “अहिलेसम्म आधाभन्दा बढी रोपाइँ गरिसक्नुपर्ने हो । मौसमका कारण खेतमा जान सकिएको छैन”, चौधरीले भने, “यस वर्ष समस्या होला जस्तो छ । अर्को खेती लगाउन समय लाग्ने देखिएको छ ।”

गाउँघरतिर किसानले आलोपालो खेतीको काम गर्दै आएका छन् । त्यसरी काम गर्दा ज्याला बच्ने र समूहमा काम हुने भएकाले त्यो प्रायः परम्पराजस्तै छ । यस वर्ष भने सबैको कामसँगै पर्ने भएपछि त्यो आलोपालोमा काम हुने अवस्था नरहेको लक्ष्मण थारु बताउछन् । “सबैले खेत जोत्ने काम गरिसकेका छन् । कतिपयको ब्याड पनि रोप्ने समयभन्दा ढल्किसकेको छ ।” लक्ष्मण भन्छन्, “गाउँमा हामी सबै किसान छौँ । आफ्नो काम छोडेर अरुको काम गर्न जाने कोही होइन । त्यसकारण पनि धान रोपाइँमा ढिलाइ हुने देखिएको छ ।”

भजनी नगरपालिका कृषि क्षेत्रका लागि कैलाली जिल्लाकै महत्वपूर्ण क्षेत्र हो । कृषिका लागि महत्वपूर्ण क्षेत्र भए पनि सिँचाइ सुविधा भने राम्रो छैन । चारैतिरबाट नदीले घेरिएको क्षेत्रमा एउटा मात्रै सिँचाइ आयोजना लागू भएको छ । जसले एक तिहाइ क्षेत्रलाई समेट्न सकेको छैन । किसानको सिँचाइको माध्यम त्यहीँ बोरिङ मोटर नै हो । बर्सातको समयमा बाढी र डुबानले विकराल रुप लिने गरेको छ । कैयौँ वर्ष किसानले लगाएको धान बाली बाढीमै विलय भएको इतिहास साक्षी रहेको स्थानीयको धारणा छ । “सिँचाइको समस्या छ । बर्सातको समयमा सबै क्षेत्र जलमग्न हुने भजनी अन्य समयमा पानी पाउँदैन ।” स्थानीय कलशराम डङ्गौरा भन्छन्, “सिँचाइ सुविधाको लागि सरकारले बोरिङ मोटर अनुदानमा किसानलाई वितरण त गरेको छ तर बिजुलीको महसुलमा भने छुट गरेको छैन ।”

वर्षे धानको तयारी गरेका किसानलाई वर्षा नहुँदा समस्या भए पनि चैते धान रोपेका किसानलाई भने अहिलेको मौसमले फाइदा पुर्याएको छ । किसानले चैते धान भित्र्याउने समय भएकाले मौसम सफा हुँदा फाइदा भएको दिनेश बोहरा बताउछन् । “पानी परेको भए धान सुकाउन समस्या हुन्थ्यो । भित्र्याउन कठिन हुने थियो । यस वर्ष मौसमले साथ दिएको छ ।” उनले भने, “मौसम राम्रो भएका कारण विगतमा भन्दा यस वर्ष चैते धानको उत्पादन पनि राम्रो हुने देखिएको छ ।”

भजनी क्षेत्रमा मात्रै अधिकांश किसानले चैते धानको खेती गर्दै आएका छन् । बर्सातको समयमा बाढी र डुबानको बढी जोखिम भएको क्षेत्रमा चैते धानको खेती फस्टाएको छ । फागुनको अन्तिमतिर रोपेको चैते धान यतिबेला किसानलाई भित्र्याउन भ्याइनभ्याइ छ । बाढी र डुबानको क्षति कम भएको खण्डमा किसानले दुई पटक त्यहीँ एकैपटक रोपेको धान भित्र्याउने गरेका छन् । बाढीले क्षति नपुर्याए भदौमा पुनः त्यहीँ धान फल्ने गरेको छ ।

:झलनाथ खनाल


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?