Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो


३० जेष्ठ ,दमौली । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो ।

आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको नापजाँच भइरहेको छ । देवघाट गाउँपालिका–५ मा नापजाँच सकिए पनि केही छुटपुट भएकाले छुटपुट भएकालाई समेत समावेश गर्ने तयारी गरिएको उनले बताए ।

देवघाटकै वडा नं २ र ४ मा जग्गाको नापजाँच सुरु गर्ने तयारी गरिएको छ । सदस्य कार्कीका अनुसार आँबुखैरेनी गाउँपालिकाका छवटै वडामा जग्गाको नापजाँच काम सकिएको छ । व्यास नगरपालिकाका जग्गा नापजाँचका लागि छलफल अगाडि बढाइएको छ । जग्गा नापजाँचका लागि आवश्यक उपकरण खरिदका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको उनले बताए ।

उनले भने, “प्राविधिक कम भएका कारण पनि जग्गा नापजाँचको कामले तीव्रता पाउन सकेको छैन । हामीसँग उपलब्ध प्राविधिकलाई नै मिलाएर सबै स्थानीय तहमा खटाउनुपर्ने अवस्था छ ।” जग्गा नापजाँच सम्पन्न भएपछि फिल्ड ढड्डा उतारेर काम गर्दा प्रत्येक पालिकाका लागि एक महिना समय आवश्यक पर्छ । उनले भने, “जग्गा नापजाँच सुरु भएपछि धेरै काम अगाडि बढेको छ भन्ने महसुस सबैलाई हुन्छ । सोहीबमोजिम हामीले कामलाई अगाडि बढाइरहेका छौँ ।”

सदस्य कार्कीका अनुसार असारभित्रै अथवा नभए दशैँ अगाडि कुनै न कुनै पालिकामा लालपुर्जा वितरण गर्ने लक्ष्य छ । यसैगरी भानु नगरपालिकामा पनि दशैँअघि सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको तयारीसहित नापजाँच कार्य सुरु भएको छ । वर्षौँदेखि लालपुर्जाविहीन रहँदै आएका स्थानीयवासीलाई लालपुर्जा दिने उद्देश्यसहित भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएको छ ।

भानु नगरपालिका–१ स्थित नयाँबस्तीबाट जग्गाको नापजाँच कार्य सुरुआत गरिएको हो । भानु–१ मा पाँच सयभन्दा बढीलाई निस्सा वितरण गरिएको थियो । यो वडाबाट सुरु भएको जग्गा नापजाँच कार्य क्रमशः अन्य वडामा सुरु गरिने नापी कार्यालयका तनहुँका प्राविधिक एवं जग्गा नापजाँच कार्यका टोली प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले दशैँअगावै नापजाँच कार्य सकेर लालपुर्जा वितरण गरिने बताए ।

राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको बताए । भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएपछि भूमिहीन खुसी भएका छन् । यसअघि निस्सा पाएका नयाँबस्तीका रामबहादुर परियारले अब लालपुर्जा पाइन्छ कि भन्ने आशा जागेको बताए । उनले भने, “प्रत्येक चुनावमा नेता आएर लालपुर्जा दिन्छौँ भन्नुहुन्छ, तर कहिल्यै पुर्जा पाइएन ।

अहिले नापजाँचको काम सुरु भएपछि त पक्कै पुर्जा पाइन्छ होला ।” सोही ठाउँकी डिलकुमारी राना पनि जग्गा नापजाँच अगाडि बढेपछि हर्षित छिन् । लालपुर्जा नहुँदा सुकुम्बासी भएर बाँच्नुपरेको भन्दै उनले जग्गा नहुँदा धेरै समस्या आइपरेको उल्लेख गरिन् । जिल्लाका १० पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ ।


प्रकाशित मिति: ३० जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?