Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

‘लम्पी स्किन’विरुद्ध पशुलाई खोप लगाउन थालियो


२९ जेष्ठ ,दमौली । तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो । पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले बताए ।

उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ । उनले भने, “व्यावसायिक रुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौँ । क्रमशः सबै वडामा पशुलाई खोप लगाइनेछ ।”

प्रमुख डा शाहका अनुसार गाउँपालिकाका सात वटै वडाका दुई हजार गाईभैँसी, गोरु, राँगालाई खोप लगाउने कार्यक्रम रहेको छ । गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उनले भने, “पहिलो चरणमा दुई हजार खोपको मात्रा आएको छ । आवश्यक परे थप खोप खरिद गरेर लगाइनेछ ।”

उनका अनुसार पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत गाउँपालिकाका वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको छ । उनले भने, “यो खोप सङ्क्रमित पशुलाई लगाउने होइन, स्वस्थ पशुलाई रोगबाट बचाउनका लागि लगाउने हो ।” गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्याङ्क भने नरहेको उनले बताए ।

सबै वडामा भेटेरिनरी प्राविधिक नभएकाले कतिलाई लम्पी स्किन लाग्यो भन्ने तथ्याङ्क आफूहरुसँग नरहेको डा शाहको भनाइ छ । उनका अनुसार लम्पी स्किनबाट सङ्क्रमित भएकालाई पशुको उपचार कार्य पनि जारी रहेको छ । खोप लगाउन भेटेरिनरी प्राविधिक अस्मिता विक, राजकुमार श्रेष्ठ, पूर्णकुमार श्रेष्ठ, अनिता शाही, सन्तुकला थापा, सुजन श्रेष्ठ, विवेक थापा मगर, विनोद थापा मगरलाई परिचालित गरिएको छ ।

त्यस्तै पशु सेवा शाखाबाट डा शाहलाई व्यवस्थापन, उपचार तथा अनुगमनमा खटाइएको छ भने पशु स्वास्थ्य प्राविधिक मीरा शाह, नायब पशु सेवा प्राविधिक रचना घिमिरे र दिवस पौडेललाई क्रमशः वडा नम्बर ३ र ७ मा परिचालन गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले लम्पी रोग नियन्त्रणका लागि पशुलाई खोप लगाउने भएको छ । पछिल्लो समय गाउँपालिकाका सबै वडामा उक्त रोग फैलिएकाले नियन्त्रणका लागि खोप लगाउन लागिएको हो ।

गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा सन्तोष देवकोटाले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप लगाइदिने बताए । खोप लगाउनका लागि वडा नम्बर १ र ६ मा अनिल थापा, वडा नम्बर २ र ३ मा चित्रबहादुर विश्वकर्मा, वडा नम्बर ४ र ५ सम्पूर्ण थापालाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

जिल्लाका सबै पालिकामा लम्पी स्किनको सङ्क्रमण फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार जिल्लाका छ सय ५० भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ भने ४० भन्दा बढी पशु मरिसकेका छन् । लम्पी रोगका कारण पशुको मृत्यु नै हुने अवस्था नरहेको भए तापनि उच्च ज्वरो आउँदा उपचार नपाएर मर्न पनि सक्ने उनको भनाइ छ । जिल्लाका अधिकांश पालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको सङ्क्रमण देखिएको छ ।

गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा शाहले बताए । उनका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा गिरावट आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?