Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ


२८ जेठ, काठमाडाैँ । भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औं साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाली टोलीले फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालले फिलिपिन्ससँग जेठ ३२ गते मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार फिलिपिन्स जाने टोलीको बिदाइ गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलगायतले बिदाइ गरे । नेपाली टोली सोमबार फिलिपिन्स प्रस्थान गर्नेछ ।

मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट भारत जानेछ । साफअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेललाई नेपालले आफ्नो गल्ती र कमजोरी सुधार गर्ने अवसरको रुपमा लिएको छ । मैत्रीपूर्ण खेल खेल्न जानुअघि नेपालले आइतबार बिहान मात्र एकल टोलीको रुपमा दशरथ रंगशालामा अभ्यास गरेको थियो । शहिद स्मारक ‘ए’ डिभिजन लिगका कारण नेपाली टोलीले आवश्यक तयारी र बन्द प्रशिक्षण गर्न पाएको छैन ।

मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि एन्फाले बिहीबार मात्र २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिसकेको छ । टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले अनुभवी र ‘ए’ डिभिजन लिगमा राम्रो खेलिरहेका खेलाडीलाई टोलीमा सामेल गरेका छन् । रक्षक विमल पाण्डे, सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउनुभएको छ ।

नेपाल दक्षिण एसियाकै ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले दुई साताअघि गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत रहेको छ । भारत र कुवेत नेपालका लागि तुलनात्मक रूपमा कठिन प्रतिद्वन्द्वी हुन् ।

यस्तै समूह ‘बी’ मा माल्दिभ्स, भुटान, बङ्गलादेश र लेबनान परेको छ । लेबनानले पनि पहिलो पटक आमन्त्रित टोलीको रूपमा साफ च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासङ्घ (फिफा) को निलम्बनका कारण श्रीलङ्काले भाग लिने छैन । नेपालले अहिलेसम्म साफ फुटबलको उपाधि जित्न सकेको छैन ।

माल्दिभ्समा भएको १३औँ संस्करणमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो । साफमा नेपालको यो नै अहिले सम्मको उत्कृष्ट नतिजा हो ।

यसपटक तुलनात्मक रूपमा कठिन समूहमा पर्नु र राष्ट्रिय टोलीका तीन दर्जन रोजाइका खेलाडी विदेश पलायन हुनाले साफ फुटबल नेपालका लागि झनै कठिन हुने देखिएको छ । नेपालले असार ६ गते कुवेतसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

नेपाली टोली

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ

रक्षक : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्त थापा

मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने

स्ट्राईकर : आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?