Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

लम्पीस्किनबाट विनयी त्रिवेणी प्रभावित


२८ जेठ, नवलपुर । घरपालुवा पशुचौपायामा प्रमुख स्वास्थ्य समस्याका रूपमा फैलिएको लम्पीस्किन रोगबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ७० गाईभैँसी मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका अनुसार जिल्लामा हालसम्म लम्पीस्किनबाट ४५ गाई, १० बाच्छाबाच्छी, नौ भैँसी, तीन पाडापाडी तथा तीनवटा गोरु मरेका छन् ।

विज्ञ केन्द्रका प्रमुख डा ऋषभ गुरागाईँले लम्पीस्किनबाट जिल्लाको विनयी त्रिवेणी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको बताए । उनका अनुसार विनयी त्रिवेणी गाउँपालिकामा १९ वटा पशुचौपाया मरेका छन् । त्यसैगरी मध्यविन्दु नगरपालिकामा १६ तथा कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा १०–१० वटा पशुचौपाया मरेका गुरागाईँले जानकारी दिए ।

हालसम्म जिल्लाका दुई हजार चार सय ५० पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । केन्द्र प्रमुख डा चापागाईँका अनुसार जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा आठ सय २५, मध्यविन्दु नगरपालिकामा पाँच सय ४८, कावासोती नगरपालिकामा चार सय २५, हुप्सेकोट गाउँपालिकामा दुई सय ८५, गैँडाकोट नगरपालिकामा एक सय ८५, बुलिङटार गाउँपालिकामा ६९ तथा बौदीकाली गाउँपालिकामा ४६ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । लम्पीस्किन रोगबाट जिल्ला सबैभन्दा बढी गाई सङ्क्रमित भएका उनले बताए ।

लम्पीस्किन देखिएका पशुचौपायामध्ये एक हजार सात सय १९ वटा गाई तथा २७ वटा पाडापाडीमा सङ्क्रमण देखिएको छ । “लम्पीस्किनबाट पशु मर्ने नै अवस्था होइन”, उनले भने, “लम्पीस्किनका कारण पशुचौपायाको शरीरमा आउने फोका पाक्ने र फुट्ने हुन्छ । सययमा उपचार भएन भने फोका फुटेको ठाउँबाट सङ्क्रमण फैलिएर पशुचौपायाको मृत्यु हुने गरेको छ ।” लम्पीस्किनको मुख्य उपचार खोप भएकाले पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण नदेखिँदै उनीहरूलाई खोप लगाउनुपर्ने डा चापागाईँको भनाइ छ ।

जिल्लाका सबै पालिकामा निरन्तर अनुगमन तथा निगरानी गरेर भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले औषधि पठाउने काम गरिरहेको उनले बताए । लम्पीस्किनविरुद्धको खोप लगाएमा पशुचौपायाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले पशुपालक कृषक सचेत हुनुपर्नेमा उनले जोड दिए । लम्पीस्किन भाइरल रोग भएकाले लामखुट्टे, झिङ्गा तथा विभिन्न कीराको टोकाइबाट पशुलाई जोगाउनुपर्ने उनले सुझाव दिए ।

लम्पीस्किन रोगको सङ्क्रमणले पशुचौपायाको शरीरमा फोका निस्कने र पशुलाई कमजोर बनाई मृत्युको मुखमा पुर्याउने भन्दै डा चापागाईँले सङ्क्रमित पशुचौपायालाई अन्य पशुसँग नराख्ने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, चरनमा नलैजाने, जैविक सुरक्षाका विधि अपनाउनुपर्ने बताए । कृषकले पालेको पशुचौपायामा लम्पीस्किनको शङ्का लागेमा त्यस्ता पशुलाई अन्यबाट अलग गराएर तुरुन्त पशु चिकित्सकलाई खबर गर्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?