Trending
>>   राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन >>   एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र होः अध्यक्ष ओली >>   जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः काँग्रेस >>   जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’ >>   प्रश्न गरेर सरकारलाई सहयोग गर्छौंः हर्कराज राई >>   काठमाडौं महानगर र त्रिवि कानून संकायबीच कानून तर्जुमा र परिमार्जनमा सहकार्य गर्ने समझदारी >>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार


२८ जेष्ठ ,दमौली । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो ।

जथाभावीरूपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । उनले भने, “नगरपालिकालाई वातावरणमैत्री सहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारीसाधनमा अनिवार्य डस्टविन राख्न भनेका छौँ ।”

सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पनि जथाभावीरूपमा फोहर नफाल्न यातायात समितिमार्फत जानकारी गराउन निर्देशन दिइएको उनले बताए । जथाभावीरूपमा अटेर गरी फोहर फालेमा पहिलोपटक रु तीन हजार र दोस्रोपटक रु सात हजारसम्म जरिवाना गरिने उनले जानकारी दिए । नगरपालिकाले पृथ्वीराजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यासभूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो ।

नगरपालिकाले बजारका विभिन्न क्षेत्रमा फोहरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक बोर्ड राखेको छ । नगरपालिकाका सरसफाइ शाखाका प्रमुख भाग्यशाली ढुङ्गानाका अनुसार बजारका मुख्य–मुख्य भागमा जथाभावी फोहर नफालौँ, फोहर फालेमा हुने कानुनी कारबाहीलगायतका विषयमा सचेतना दिन सचेतनामूलक बोर्ड राखिएको छ ।

व्यास नगर फोहरमैला व्यवस्थापन कार्यविधि, २०७८ अनुसार दफा १४ (क) नगरपालिका वा सम्बन्धित वडाले तोकिएको समय र स्थानबाहेक अन्यत्र फोहरमैला निष्काशन गरी यत्रतत्र राखेमा वा फालेमा सोही कार्यविधिको दफा १९ अनुसार कसुर गर्ने व्यक्तिलाई जरिवाना गरिने उनले बताए । त्यस्ता व्यक्तिलाई पहिलोपटक रु तीन हजार जरिवाना, दोस्रोपटक सोही कसुर गरेमा रु तीन हजारदेखि रु सात हजारसम्म जरिवाना र फोहरमैला उठाउँदा लाग्ने खर्चसमेत निजबाट असुलउपर गरिने जनाइएको छ ।

साथै जथाभावी चोक–चोकमा फुटपाट व्यवसाय नगर्न र पशु बध तोकिएको स्थानमा मात्र गर्न नगरपालिकाले आग्रह गरेको छ । उनले भने, “जथाभावीरूपमा फोहर फालिदिने प्रवृत्ति बढ्दो छ, त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न यो व्यवस्था गरेका हौँ । यसले गर्दा फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरेका छौँ ।”

व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । स्थापनाको ३० वर्ष पुगिसक्दा पनि नगरपालिकाले फोहरमैला केन्द्र बनाउन भने सकेको छैन । व्यास नगरपालिका सरसफाइ केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटे पनि उक्त प्रयास सफल हुन सकिरहेको छैन ।

व्यास नगरपालिकाले हाल वडा नं १३ स्थित सोढेको बुद्धसिं राजमार्ग आसपास फोहरमैला बिसर्जन गर्दै आएको छ । यसअघि व्यास–३ मादीस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेमा फोहर फाल्दै आएको छ ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?