Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला


२६ जेष्ठ ,मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ ।

मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ ।

विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए ।

बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताए ।

कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुनःनिर्माण ढिला गरी सम्पन्न भएको हो । मन्दिरको २०७५ असार ७ गते शिलान्यास गरेर काम प्रारम्भ भएको थियो । ढुङ्गा र माटोले बनेको सो पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो ।

गाउँपालिका अध्यक्ष गुरुङले ऐतिहासिक महत्त्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताए । “आवश्यक पूर्वाधार निर्माण गरिने र प्रचार–प्रसारमा जोड दिइने छ”, उनले भने–“खानेपानीको व्यवस्थासमेत भइसकेको छ, बस्नका लागि होमस्टेको सुविधा छ, आवश्यक पूर्वाधार निर्माण गर्दै जान्छौँ, ऐतिहासिक महत्व बोकेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ ।”

सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ । साथै मन्दिर परिसर वरपर फागुन–चैतमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ । इच्छाकामनाको फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिर सवारीसाधनमार्फत पुग्न सकिन्छ ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे धार्मिक विश्वास रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए ।

मन्दिरसम्म सडक पुगेसँगै भक्तजनको आवागमनमा वृद्धि भएको उनले बताए । प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?