२२ जेष्ठ ,काठमाडौँ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गणतन्त्र दिवस, २०८० को सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको आज अवलोकन गरे ।
तस्बिर अवलोकनपछि मेयर प्रजापतिले आधुनिकताका नाममा धरोहरको रूपमा रहेको हाम्रो सामाजिक तथा सांस्कृतिक पहिचान गुम्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय संस्कृतिलाई उजागर गर्न सहयोग पुग्ने गरी तस्बिर प्रदर्शनी गरेकोमा राससलाई धन्यवाद दिए ।
राज्यका सार्वजनिक तथा सरकारी संयन्त्र व्यवस्थित, सुदृढ र जनमुखी हुनुपर्दछ भन्ने पक्षमा आफू रहेको उल्लेख गर्दै उहाँले सूचना र सञ्चारको क्षेत्रमा महत्वपूर्ण भूमिकामा रहेको राससलाई सहयोग गर्न भक्तपुर नगरपालिका तयार रहेको बताए ।
राससबाट सम्प्रेषित मुलुकको धार्मिक, सामाजिक तथा सांस्कृतिक परिवेश झल्काउने ७७ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ११ गते एक कार्यक्रमका बीच उद्घाटन गरेको सो प्रदर्शनी सर्वसाधरण सबैका लागि खुला गरिएको छ ।
बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म अवलोकन गर्न सकिने सो प्रदर्शनी यही जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । विशेषगरी कला, संस्कृतिको क्षेत्रमा केन्द्रित भई सञ्चालित सो प्रदर्शनीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रिगण, लब्धप्रतिष्ठित व्यक्तित्वसहित आमसञ्चार, चित्रकला, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुची राख्नेहरू र सर्वसाधरण सहभागी भएका छन्।
अवलोकन भ्रमणका क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द झाले राससको संरचना, कार्यसम्पादन प्रक्रिया र तस्बिर प्रदर्शनीको सन्दर्भमा जानकारी गराउँदै मेयर प्रजापतिलाई मायाको चिनो प्रदान गरे ।
यसैगरी महाप्रबन्धक सिद्धराज राई, नायव महाप्रबन्धक श्यामप्रसाद रिमाल, प्रमुख समाचारदाता उत्तम सिल्वाल, आलेख सेवा प्रमुख कृष्ण अधिकारी, सेवाग्राही शाखा प्रमुख राजाराम कार्कीलगायतका राससका पदाधिकारी एवं सञ्चारकर्मीले मेयर प्रजापतिसहितको प्रतिनिधि मण्डललाई स्वागत गरेका थिए ।
प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार