Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल


१९ जेष्ठ ,नयाँ दिल्ली । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताए ।

नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । “जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ”, उनले भने, “नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो ।”

महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । “यीलगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्वपूर्ण रह्यो, प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो”, उनले भने ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालले बताए । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरावलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन् । भ्रमणका क्रममा बिहीबार प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल आज मध्यप्रदेशको इन्दोर जाने कार्यक्रम छ । त्यहाँ रहँदा उहाँले मध्यप्रदेशका राज्यपालसँग भेटवार्र्ता तथा फोहोर व्यवस्थापन अभ्यासको अवलोकन गर्ने कार्यक्रम छ ।

:रमेश लम्साल


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?