Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

छ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी अधुरै


१८ जेष्ठ ,खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ । विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो ।

यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ । रु दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । “पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुङ्गो लागेको छैन”, उनले भने ।

हालसम्मको काम पनि गुणस्तरिय नभएको उनको आरोप छ । “भवनको भित्री भागको धेरै काम बाँकी नै छ । झ्यालको सिसा, भित्री भागको रङरोगन, शौचालय तथा स्नानगृहमा धारा, टायल बिछ्याउनेलगायत काम बाँकी छ”, न्यौपानेले भने ।

निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्यचौकी भवनको सिलिङबाट पानी चुहिने गरेको छ । गुणस्तरहीन कामका बारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको छ । निर्माण कम्पनीको लापरवाहीले निर्माणाधीन स्वास्थ्यचौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समस्या भएको छ ।

स्वास्थ्यचौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालित छ । ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, भट्टले पनि स्थानीय सन्तोष राईलाई काम लगाएको र उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीयको भनाइ छ ।

ठेकेदारबीचको किचलोका कारण निर्माण कम्पनीले कामदारको पैसासमेत नदिएकाले निर्माण ठप्प बनेको हो । ठेकेदार कम्पनीले तोकिएको समयमा भवनको काम सम्पन्न नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख डा युवराज पौडेलले बताए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?