Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

छ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी अधुरै


१८ जेष्ठ ,खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ । विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो ।

यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ । रु दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । “पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुङ्गो लागेको छैन”, उनले भने ।

हालसम्मको काम पनि गुणस्तरिय नभएको उनको आरोप छ । “भवनको भित्री भागको धेरै काम बाँकी नै छ । झ्यालको सिसा, भित्री भागको रङरोगन, शौचालय तथा स्नानगृहमा धारा, टायल बिछ्याउनेलगायत काम बाँकी छ”, न्यौपानेले भने ।

निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्यचौकी भवनको सिलिङबाट पानी चुहिने गरेको छ । गुणस्तरहीन कामका बारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको छ । निर्माण कम्पनीको लापरवाहीले निर्माणाधीन स्वास्थ्यचौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समस्या भएको छ ।

स्वास्थ्यचौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालित छ । ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, भट्टले पनि स्थानीय सन्तोष राईलाई काम लगाएको र उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीयको भनाइ छ ।

ठेकेदारबीचको किचलोका कारण निर्माण कम्पनीले कामदारको पैसासमेत नदिएकाले निर्माण ठप्प बनेको हो । ठेकेदार कम्पनीले तोकिएको समयमा भवनको काम सम्पन्न नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख डा युवराज पौडेलले बताए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?