Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बागमती सुधारका लागि बीस वर्षे गुरुयोजना बनाइँदै


१७ जेठ, काठमाडाैँ । बागमती नदी र त्यसका सहायक नदीमा करिडोर निर्माण तथा नदी सफा बनाउने उद्देश्यले बीस वर्षीय गुरुयोजना बनाइने भएको छ ।

सन् २०४३ सम्म बागमतीलाई सफा बनाएर त्यसको दुवैतर्फ करिडोर सडक निर्माणको योजना बनाइएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । गुरुयोजनाका लागि खाका (ड्राफ्ट) बनेको र त्यसलाई अन्तिम रूप दिनका लागि विभिन्न सारेकारवाला निकायसँग छलफल भइरहेको समितिका इन्जिनियर कमल अर्यालले बताए । यस वर्ष अन्तिम रूप दिइने गरी तयारी अघि बढाइएको उनको भनाइ छ ।

उनले भने, ‘अबको २० वर्षमा बागमतीमा बाँकी रहेका सबै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।’ गुरुयोजना अनुसार बागमतीको पानी सफा गर्ने, दुवैतर्फ ढल, करिडोर निर्माण गर्ने, यसका सहायक र उपसहायक नदी सफा गरिनेलगायत विषय समेटिएका समितिले जनाएको छ ।

ठोस फोहर मात्र नभइ तरल फोहर पनि व्यवस्थापन गर्न जरुरी रहेकाले तरल फोहर व्यवस्थापनका क्षेत्रमा पनि काम गरिने समितिका इन्जिनियर अर्यालले बताए । उनका अनुसार तरल फोहर व्यवस्थापनका लागि ढल निर्माण गर्नुपर्ने भएकाले नदी किनारामा ढलको लाइन बिछाइने छ । ‘ढलको लाइनलाई प्रशोधन केन्द्रमा लगेर प्रशोधन गरेपछि सफा भएको पानी मात्रै खसाल्ने योजना छ,’ अर्यालले भने । उनले यो काम कतिपय नदीमा भइरहेकाले बाँकी नदीमा पनि अघि बढाइने बताए ।

समितिले अहिले उपत्यकाका ११ खोलामा तरल फोहर व्यवस्थापनको काम गरिरहेको छ । बागमतीसँग जोडिने सहायक खोला तथा सहायक खोलासँग जोडिएका उपसहायक खोलामा काम भइरहेको इन्जिनियर अर्यालले बताए । उनका अनुसार ती सबै खोला बागमतीमा मिसिने हुँदा सबैमा काम गरिएको हो । उपत्यकामा विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचा, बल्खु, मच्छे खोला, महादेव खोला र मनोमती खोला, नख्खु, कर्मनाशा, हनुमन्ते खोला छन् ।

ती सबै खोला तथा सहायक खोला सफा बनाउन दुवैतर्फ ढलको लाइन बिछाउने इन्जिनियर अर्यालले बताए । करिडोर बनाउने, तटबन्ध निर्माण गर्ने, बाँध बनाउने, नदी किनारामा रहेका मठमन्दिरको पुनर्निर्माण पनि गरिने उनको भनाइ थियो ।

बागमतीमा मिसिने खोलाहरूमा फोहर पानी प्रशोधनको काम हुन बाँकी रहेको इन्जिनियर अर्यालले बताए । ‘विष्णुमतीमा ढलको लाइन बिछाइएको भए पनि विष्णुमती र बागमती मिसिएको ठाउँमा पाँच सय मिटरमाथि जाँदा दाहिनेतर्फ मनोमती खोलाबाट ढल आइरहेको छ,’ उनले भने । १३ किमी लम्बाइको उक्त खोलामा दुवैतर्फ १३/१३ गरी २६ किमी ढलको लाइन नजोड्दासम्म खोला सफा नहुने इन्जिनियर अर्यालले बताए । उनले भने, ‘मनोमतीसँग जोडिने ससाना खोल्साहरू जुनमा तल ढल बग्छ र माथि गाडी गुड्छन् । त्यसलाई पनि व्यवस्थित नगर्दासम्म बागमती सफा हुँदैन ।’

सरकारले विसं २०६६ मा पाँच वर्षको बागमती कार्ययोजना बनाइएको थियो । अहिले सोही कार्ययोजनालाई परिमार्जित गरेर २० वर्षे गुरुयोजना बनाउन लागिएको समितिले जनाएको छ ।


प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?