Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने


१७ जेठ, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र बालुवा पुल यसै महिनाबाट सञ्चालनमा आउने गरी काम भइरहेको छ ।

सेतीदोभानको पुलमा रङ्ग लगाउन र बाह्य भागमा रेलिङ् राख्न बाँकी छ । डुम्रे र बालुवा पुलको सबै भागमा रेलिङ, कालोपत्र र रङ्ग लगाउन बाँकी रहेको छ । कार्कीले भने, “सबै काम सकेर जेठ मसान्तभित्रमा तीनवटै पुल सञ्चालन गर्ने योजना रहेको छ ।”

अन्य चार पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ । पुल बनाउने ठाउँको पहाड विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु भएको छैन । मुआब्जा वितरण गरेर खहरे खोलाको पुलको काम सुरु भएको छ । कार्कीका अनुसार तुइन खोलाको पुलबाहेक अन्य बाँकी रहेका पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

तुइन खोलाको पुल निर्माण गर्ने ठाउँको ढिस्को विस्फोटको प्रक्रियामा रहेको छ । यो पुलको भने टुङ्गो लाग्न सकेको छैन । कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० सालको पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।

नक्साङ्कनसहित पुल निर्माणका लागि ठेक्का लगाइएको हो । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो रहेको छ ।

केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । पुल निर्माण गरिने ठाउँमा २६ टहरा रहेका छन् । ती टहरालाई मुआब्जा दिएर व्यवस्थापन गर्ने काम भइरहेको छ । सबै घरटहरा व्यवस्थापन गर्दा रु ९७ लाख भुक्तानी गर्नुपर्ने हुन्छ । हालसम्म १६ घरटहराको मुआब्जा दिएर हटाइसकिएको छ ।

सो सडक खण्डका चार पुल यसअघि नै निर्माण गरी सञ्चालनमा आएका छन् । सडक खण्ड विस्तार गरेसँगै पुराना पुल भएका ठाउँमा नयाँ पुल निर्माण सुरु गरिएको हो । यसै सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन हुने गर्छन् ।


प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?