Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

फेरियो रुम गाउँको मुहार


१४ जेठ, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको भए । उमेरले आठ दशक छुनै लागे पनि स्वच्छ खानपानले उनी अझै हट्टाकट्टा छन् । फरासिला विकले जीवनका अधिकांश समय ढुङ्गाखानीबाट घर छाउनी ढुङ्गा निकाल्दै, गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताए ।

विकसँग जीवनका अनेकौँ भोगाइ छन् । उतिबेला उनले भोगेका कैयौँ अनुभव अहिले विक आफैँलाई नौला लाग्छन् । उनले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुभव छ जो विक कहिल्यै भुल्दैनन्। चौध दिनको पैदलयात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उनको मानसपटलमा अझै ताजै छ । उनी यो दुःख चाहेर पनि भुल्न सक्दैनन् ।

दुर्गम गाउँ रुम सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल गाउँसम्म बिजुलीबत्ती र सडक पुगेको छ ।

गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुलीबत्तीले गाउँ घर झिलिमिली होला भन्ने उनले कहिल्लै कल्पना गरेको थिएन । तर अहिले गाउँघरमै सरर गाडी गुड्दा, बिजुलीबत्तीले झिलिमिली हुँदा विक दङ्ग छन् । विकमात्रै होइन गाउँमै सडक गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालयलगायतका विकासका पूर्वाधार पुुगेपछि यहाँका बासिन्दाको खुसीको सीमा नै छैन ।

सडक बनेर गाडीमार्फत बुटवल र चितवनलगायतका ठाउँबाट घरदैलोमै खाद्यान्नलगायतका आवश्यक चिज आउन थालेपछि उमेरले ७० वसन्तपार गरेका यहाँका वृद्धवृद्धाले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा महसुस गर्न पाएका छन् ।

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट दुईतर्फी सडक गाउँमा पुगेपछि यस क्षेत्रका बासिन्दाको जीवनमा खुसियाली छाएको हो ।

“हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिएन, तर अहिले त हेर्नुस् गाडी सरर चल्छन्, बिजुलीबत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुलीले झिलिमिली छ, एकदिन लाइन आएन भने अन्धकारमा बसेजस्तो हुन्छ”, रुमबेलीका मेखबहादुर पुनले भने, “बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउनु अली तल जानुप¥यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, धेरै टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई÷चार पाइला पनि हिँड्न गाह्रो लाग्छ ।”

जिल्ला सदरमुकाम बेनीबजार आवतजावत गर्न चार दिन लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दुःख पाएको पुनले सुनाए । “कागजपत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानुपथ्र्यो, यहाँबाट हिँडेर बेनीपुग्दा दुई दिन, फर्किंदा दुई दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गथ्यो, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन धेरै समस्या हुन्थ्यो”, पुनले भने, “अहिले त बिहान सरर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविधा होला भन्ने त कसले सोचेको थियो होला र ?”

अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनुपर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको पुनले बताए । “पहिलेको दुःखलाई सम्झिँदाखेरी त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ”, पुनले भने, “अहिले त सबथोक छ, के छैन ?, उतिबेला घ्यु बोकेर १५/१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।”

खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयवासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।

मालिका गाउँपालिकाको दक्षिणी भेगमा पर्ने रुम गाउँ २०।७४ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । बागलुङ जिल्लासँग सिमाना जोडिएको यो गाउँमा तीन हजार सात सय तीन जनसङ्ख्या छ । यहाँ मकै, कोदो, गहुँ, जौ, फापर आदिको राम्रो खेती हुन्छ । यस क्षेत्रमा उत्पादन हुने कृषिउपज, स्लेट ढुङ्गा र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु¥याएको मालिका गाउँपालिका–२ रुमका वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताए ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?