Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

राजमार्गमा ऐँसेलु बेच्नेहरु…


११ जेठ, कास्की । वनपाखा चहारेर ऐँसेलु टिप्छन्। मल्लाताको हरियो पातलाई सोली आकारमा बेर्छन्। त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आइपुग्छन्। ऐँसेलु टकार्दै गाडीको झ्यालतिर हात लम्काउँछन्। यात्रुलाई ऐँसेलु किन्न विनयपूर्वक आग्रह गर्छन्। कसैले गाडी रोकेर ऐँसेलु किन्छन्, कोही वास्तै नगरी हुइँकिन्छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका-३ काँडेका कतिपय महिलाले हिजोआजको दैनिकी यसरी नै कटाउँछन्। मंगलबार मध्यपहाडी पुष्पलाल लोकमार्गमा मनमाया विकसँगै तीन महिला ऐँसेलु बेचिरहेका भेटिए। झरीकोसमेत पर्वाह नगरी उनीहरु हातमा ऐँसेलु लिएर सडक किनारमा उभिइरहेकी थिइन्।

विकले काँडाले कोतरेका हत्केला देखाउँदै ऐँसेलु टिप्नु दुःखजिलो काम भएको सुनाइन्। “बिहानमा ऐँसेलु टिप्छौँ, दिउँसो बाटोमा ल्याएर बेच्छौँ”, उनले भनिन्, “टाढाटाढा वनमा जानुपर्छ, गाह्रो भए पनि घरखर्च जुटाउन काम गर्नैपर्‍यो।”

महिला टपरी झैँ खिपेको हरियो पातमा ऐँसेलु राखेर बेच्छन्। एउटाको मूल्य रु एक सय राखेका छन्। कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्छन्। दैनिक ज्यालादारी कामकोभन्दा धेरै पैसा आउन थालेपछि महिला ऐँसेलुतिर आकर्षित भएका हुन्।

“ऐँसेलु बेच्न सजिलो त छैन, धेरैले त वास्तै गर्नुहुन्न, कोहीकोहीले गाडी रोकेर चाख मानीमानी किनेर खानुहुन्छ”, विकले भनिन्, “फुर्सदका दिनको सदुपयोग पनि भएको छ, घरगुजारा चलाउन अलिअलि पैसा पनि हुन्छ।” बढीजसो सहरिय मानिसको रोजाइमा ऐँसेलु पर्छ। विदेशी पर्यटकले पनि किनेर खान्छन्।

लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्तयाममा ऐँसेलु बेच्ने भेटिन्छन्। पहाडी भेगका अरु राजमार्ग छेउछाउ पनि ऐँसेलुको किनमेल हुन थालेको छ।

बिदाका दिनमा त बालबालिका पनि ऐँसेलु बेच्न बाटोमा निस्कन्छन्। वयस्क पुरुष भने यो काममा खासै भेटिन्नन्। बागलुङको काठेखोला गाउँपालिका-५ का दुई दाजुभाइ शिशिर र विश्वास पनि केही दिनअघि सडकमा ऐँसेलु बेचिरहेका भेटिए।

शनिबारको फुर्सद पारेर गाउँ नजिकैको वनबाट ऐँसेलु टिपेर ल्याएको शिशिरले सुनाए। त्यसअघि उनीहरुलाई ऐँसेलु बिक्री हुन्छ भन्ने थाहा पनि थिएन। अन्यत्र पनि सडकमा ऐँसेलु बेचेको देखेर आफूहरुले सिकेको शिशिरले बताए।

कापीकलम र खाजाखर्च जुटाउने सोचले ऐँसेलु बेच्न बसेको उनको भनाइ थियो। उनीहरुसँग ऐँसेलु किनेर खाएपछि गोरखाका अमृतराज उपाध्ययले बालपनको सम्झना आएको बताए। उनले पोखरादेखि गलकोटसम्म पुग्दा ठाउँठाउँमा ऐँसेलु बेच्न बसेका मानिस भेटेको सुनाए।
पहिलेपहिले वनपाखा धाएर ऐँसेलु, चुत्रोलगायत फल खाने चलन थियो। पछिल्लो समय त्योक्रम हट्दै गएको छ। चैतदेखि जेठसम्म डाँडापाखामा ऐँसेलु पाँक्ने गरेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताए।

“ऐँसेलुबाट जुस, वाइन पनि बनाउन सकिने विज्ञले बताएका छन्, तर हामीकहाँ यसबारे खासै चासो र अध्ययन भएको पाइँदैन”, उनले भने, “केही ठाउँमा ऐँसेलु संकलन गरेर बेच्न थालिएको छ, वनमा यसै खेर जाने फलबाट किसानले कमाइ गर्नु सुखद कुरा हो।”

वनस्पति विज्ञका अनुसार मझौला काँडेदार बुट्यान (झाडी)मा ऐँसेलु फल्छ। पहाडि भेगको सातसयदेखि दुई हजार मिटरसम्ममा ऐँसेलु पाइन्छ। यो फल रसिलो र गुलियो हुन्छ। ऐँसेलु प्रकृतिमा आफैँ उम्रेर वर्षौँसम्म टिक्ने वनस्पति हो। अपच भएको अवस्थामा ऐँसेलु प्रयोग गर्नु लाभदायी मानिन्छ।

ऐँसेलुमा भिटामिन सीलगायत सुक्ष्म पोषकतत्व पाइन्छ। ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ। यो पूर्णरुपमा जैविक फल हो। ‘गोल्डेन हिमालयन रासबेरी’ले चिनिने ऐँसेलु वाइनका लागि खपत हुन थालेपछि तेह्रथुमलगायत पहाडी जिल्लाका किसानको आयआर्जनको बाटो बनेको छ, ऐँसेलु।


प्रकाशित मिति: ११ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?