Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना


१० जेठ, गोरखा । सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ ।

सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको ढाँटबारीमा सुन्तला खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सुन्तलाको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष सकुन थापामगरले जानकारी दिए ।

“मनकामनाको सुन्तला ग्राहकको पहिलो रोजाइमा पर्छ”, उनले भने, “सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचार–प्रसार गरी कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न प्रतिमा स्थापना गरिएको हो ।”

मनकामना मन्दिरका कारण देशकै धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा रहेको मनकामना क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुन्तलाको पनि पकेट क्षेत्रका रूपमा रहेको जानकारी गराउन प्रतिमा निर्माण गरिएको हो । प्रतिमा निर्माणले मनकामना क्षेत्रका किसानलाई सुन्तला खेती गर्न अझ बढी प्रोत्साहन मिल्ने वडाध्यक्ष थापामगरको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ मनकामना बजार एकाइले करिब रु छ लाख लागतमा ढाँटबारीमा सुन्तलाको प्रतिमा निर्माण गरेको हो । स्थानीवासीले बसपार्कमा निःशुल्क उपलब्ध गराएको जग्गामा प्रतिमा निर्माण गरिएको वडाध्यक्ष थापामगरले बताए । “सुन्तलाको अझै उत्पादन बढाउन सके यहाँका किसानको आर्थिकस्तरमा थप वृद्धि गर्न सकिन्छ, त्यसका लागि कृषकलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्नु आवश्यक छ”, उनले भने ।

गोरखाको मनकामनास्थित ढाँटबारी क्षेत्रका किसानले वार्षिक करिब रु एक करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री गर्दै आएका छन् । मनकामनाको सुन्तला अन्य क्षेत्रको बढी स्वादिलो र रसिलो भएको विश्वास गरिएको छ ।

ढाँटबारी गाउँलाई सुन्तलाको गाउँका रूपमा परिचित गराउने प्रतिमा निर्माण गरिएको गोरखा उद्योग वाणिज्य सङ्घ मनकामना बजार एकाइका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए । नवनिर्मित प्रतिमाको गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र वडाध्यक्ष थापामगरले संयुक्तरूपमा उद्घाटन गरे ।


प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?