Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

काभ्रेमा सम्बन्ध विच्छेद : नौ महिनामा ३ सय ६५ मुद्दा दर्ता


९ जेठ, काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा तीन सय ६५ मुद्दा दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई सम्बन्ध विच्छेदको सहज अधिकार प्रदान गरेका कारण यस्ता घटनामा वृद्धि हुन थालेको विश्लेषण गर्न थालिएको छ ।

अदालतका अनुसार सम्बन्ध विच्छेदको उक्त सङ्ख्या विसं २०७९ साउन महिनादेखि चैतसम्मको हो । चालु आवको उक्त घटना दर्ता अघिल्लो आवको भन्दा निकै बढी भएको अदालतका श्रेष्तेदार गोविन्द घिमिरेले बताए । उनका अनुसार वैशाख महिनामा करिब दुई दर्जन सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । “अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदसम्बन्धी घटना यो वर्ष ह्वात्तै बढेको पाइयो, यो निकै डरलाग्दो सङ्ख्या हो”, घिमिरेले भने ।

जिल्ला अदालतमा गत वर्ष डेढ सयको हाराहारीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जनाइएको छ । जेठ महिना लाग्दै गर्दा अदालतमा दैनिक सम्बन्ध विच्छेदका घटना दर्ता भइरहेको घिमिरेले बताए । उनले भने- “सम्बन्ध विच्छेदका कारण उनीहरुबाट जन्मेका सन्तान बेवारिसे हुन थालेको गुनासो आउन थालेका छन् । बाल मस्तिकमा पार्ने प्रभावले भविष्यमा उत्पन्न हुने जोखिमलाई सोच्न भने सकिएको छैन ।”

सम्बन्ध विच्छेदका घटनाको ग्राफ बढिरहँदा समाजमा नकारात्मक असर पुर्याउने चिन्ता व्यक्त गर्न थालिएको छ । घिमिरेका अनुसार सम्बन्ध विच्छेद भएका घटनामा पनि सम्पत्तिको हक दाबी कार्यान्वयनमा कठिनाइ देखिएको छ । केहिले सम्बन्ध विच्छेदको सट्टा अंश चलन र मानाचामलमा मुद्दा दर्ता गरेका छन् ।

जिल्लामा फौजदारी सरकारवादी अन्तर्गत दर्ता हुने मुद्दामध्ये डरलाग्दो तथ्याङ्क देखिएको करणीसम्बन्धी मुद्दा रहेका छन् । हरेक महिना चारभन्दा धेरै जबरजस्ती करणीका घटना दर्ता हुने गरेको अदालती तथ्याङ्कले देखाएको छ । यही अवधिमा महिनाको अवधीमा ४१ करणीसम्वन्धी मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ । जसमा जबर्जस्ती करणीसम्बन्धी ३६ र बालयौन दुर्व्यवहार चारवटा र जबर्जस्ती करणी उद्योगमा एउटा मुद्दा दर्ता भएको हो ।

सहमतिमा सम्बन्ध राख्ने र पछि परिवार, समाज र आफन्तले जानकारी पाएपछि जबर्जस्ती करणीमा अभियोग दर्ता भएका केही मुद्दा पनि रहेको जनाइएको छ । प्रेम गर्ने, सम्बन्ध रहने अनि परिवारले थाहा पाएर असमझदारी भएको दिन जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको पाइएको छ । यस्ता घटनामा एकल महिला, बालिकादेखि बृद्धासम्म जबरजस्ती करणीका सिकार बनेको घटनाक्रमले देखाएको छ ।

जिल्ला अदालत धुलिखेलमा दर्ता भएकामध्ये अंश चलनसम्बन्धी एक सय ७५ थान मुद्दा यस वर्षका छन् । नौ महिनाको अवधिमा महिलाले १६ मानाचामलमा र एक सय ७५ वटा अंश चलनसम्बन्धी मुद्दा दर्ता गराएको घिमिरेले जानकारी दिए । उनका अनुसार यही अवधिमा बहुविवाहसम्बन्धी छ मुद्दा दर्ता भएका छन् ।

अदालतमा आव २०७८–७९ बाट चालु आव २०७९–८० का लागि एक हजार पाँच सय ५५ थान मुद्दाको जिम्मेवारी सरेको थियो । नौ महिनाको अवधिमा एक हजार तीन सय ६२ थान दर्ता भएका छन् । कूल मुद्दाको सङ्ख्या दुई हजार नौ सय १७ पुगेको छ ।

जसमध्ये गत चैत्र महिनामा मात्रै दुई सय ९४ फछ्र्यौट भएका छन् भने छ महिना अवधिका दुई सय ९१, एक वर्ष अवधिका पाँच सय चार, डेड वर्ष अवधिका दुई सय ४०, दुई वर्ष अवधिका एक सय ६६ र दुई वर्ष नाघेका दुई सय ७७ गरी कूल एक हजार चार सय ७८ मुद्दा फैसला भएका छन् । प्रतिशतका हिसाबले यो ५० दशमलव ६७ प्रतिशत हो ।

अदालतमा अझै दुई वर्ष नाघेका एक सय ४६, दुई वर्ष सम्मका ८४, डेड वर्ष अवधिका दुई सय आठ, एक वर्ष अवधिका तीन सय ९६, छ महिनाभित्रका छ सय पाँच गरी कूल एक हजार चार सय ३९ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जनाइएको छ ।


प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?