Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

तातोपानीको नयाँ मुहान भेटियो


८ जेठ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुन्जे गाउँमुनिको पहाडको फेदी र काली गण्डकी नदीको किनारमा प्राकृतिक रुपमा तातोपानी निस्कने मुहान भेटिएको हो ।

बेनी–जोमसोम सडकको भिरकाटे पारी काली गण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको देखेपछि खन्ने क्रममा तातोपानीको मुहान भेटिएको दोवा बेँसीका गमबहादुर राम्जालीले बताए ।

‘बगरमा बाफ उडेको र पानी रसाएर चिसो भएको देखेपछि गल र बाउसोले खन्दा तातोपानीको मुहान भेटियो’, उनले भने, ‘एक पटकमा तीन–चार जनाले शरीर डुबाएर स्नान गर्न मिल्ने पोखरी बनाएका छौँ ।’

जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीको मुहान अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा पर्ने दोवा बेँसी र बेनी–जोमसोम सडकको भिरकाटे खण्डको पारिपट्टि रहेको छ । दोवाका बासिन्दा सोही तातोपानीमा स्नान गर्न जान थालेका छन् ।

तातोपानी स्नान गर्न आउनुभएकी दोवाकी ६७ वर्षीया लालमाया पुर्जाले पानीमा वीरेनुन र अण्डा उमालेको जस्तो गन्ध आउने बताइन् । ‘सानो हुँदा यहाँको तातोपानीको पोखरीमा डुबेको याद छ । पछि मुहान पुरिएको थियो’, उनले भनिन् ‘५५–६० वर्षपछि फेरि मुहान भेटिएकाले नुहाउन आएको हो ।’

दोवा, सुनारी, कटुञ्जेका बासिन्दा त्यबेला यहाँको तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ गर्दथे । तातोपानीको पोखरीमा स्नान गरेमा चोट पटक लागेको, सुन्निएको, बज्रिएको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

अहिले भेटिएको तातोपानी जमिनबाट माथि भुलभुल निक्लन्छ । तातोपानीको स्रोत मध्यम किसिमको छ । व्यवस्थित पोखरी बनाउन सकेमा २० देखि २५ जनासम्मले स्नान गर्न सक्छन् ।

अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश फगामीले नयाँ भेटिएको तातोपानीको मुहान संरक्षण र व्यवस्थापनको तयारी गरिएको बताए ।

‘तातोपानीको संरक्षण र व्यवस्थापनका लागि स्थानीयवासीले माग गरेका छन्’, उनले भने, ‘अहिले भेटिएको भन्दा केही माथि पनि अर्को मुहान भएको सूचना आएकाले सबैको एकै पटक अध्ययन र व्यवस्थित बनाउने तयारी गरेका छौँ ।’

अन्नपूर्ण गाउँपालिकाको दोवा सेकार्कु, भुरुङ, पाउद्वार, रातोपानीमा यसअघि पहिचान भएका तातोपानीका मुहानको संरक्षण र व्यवस्थापन हँदै आएको छ । यसैगरी बेनी नगरपालिका–४ को सिङ्गा, रघुगङ्गा गाउँपालिका–४ को दर्मीजा, धौलागिरि गाउँपालिका–१ गुर्जा र वडा नम्बर ४ बगरमा रहेका तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलको रुपमा प्रयोग भएका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?