Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

तातोपानीको नयाँ मुहान भेटियो


८ जेष्ठ ,म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो ।

बेनी–जोमसोम सडकको भिरकाटे पारी कालीगण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको देखेपछि खन्ने क्रममा तातोपानीको मुहान भेटिएको दोवा बेँसीका गमबहादुर राम्जालीले बताए । “बगरमा बाफ उडेको र पानी रसाएर चिसो भएको देखेपछि गल र बाउसोले खन्दा तातोपानीको मुहान भेटियो”, उनले भने, “एक पटकमा तीन–चार जनाले शरीर डुबाएर स्नान गर्न मिल्ने पोखरी बनाएका छौ ।”

जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीको मुहान अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा पर्ने दोवा बेँसी र बेनी–जोमसोम सडकको भिरकाटे खण्डको पारिपट्टि रहेको छ । दोवाका बासिन्दा सोही तातोपानीमा स्नान गर्न जान थालेका छन् ।

तातोपानी स्नान गर्न आएकी दोवाकी ६७ वर्षीया लालमाया पुर्जाले पानीमा वीरेनुन र अण्डा उमालेको जस्तो गन्ध आउने बताईन् । “सानो हुँदा यहाँको तातोपानीको पोखरीमा डुबेको याद छ । पछि मुहान पुरिएको थियो”, उनले भनिन् “५५–६० वर्षपछि फेरि मुहान भेटिएकाले नुहाउन आएको हो ।”

दोवा, सुनारी, कटुञ्जेका बासिन्दा त्यबेला यहाँको तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ गर्दथे । तातोपानीको पोखरीमा स्नान गरेमा चोट पटक लागेको, सुन्निएको, बज्रिएको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । अहिले भेटिएको तातोपानी जमिनबाट माथि भुलभुल निक्लन्छ । तातोपानीको स्रोत मध्यम किसिमको छ । व्यवस्थित पोखरी बनाउन सकेमा २० देखि २५ जनासम्मले स्नान गर्न सक्छन् ।

अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रकाश फगामीले नयाँ भेटिएको तातोपानीको मुहान संरक्षण र व्यवस्थापनको तयारी गरिएको बताए । “तातोपानीको संरक्षण र व्यवस्थापनका लागि स्थानीयवासीले माग गरेका छन्”, उनले भने, “अहिले भेटिएको भन्दा केही माथि पनि अर्को मुहान भएको सूचना आएकाले सबैको एकै पटक अध्ययन र व्यवस्थित बनाउने तयारी गरेका छौँ ।”

अन्नपूर्ण गाउँपालिकाको दोवा सेकार्कु, भुरुङ, पाउद्वार, रातोपानीमा यसअघि पहिचान भएका तातोपानीका मुहानको संरक्षण र व्यवस्थापन हँदै आएको छ । यसैगरी बेनी नगरपालिका–४ को सिङ्गा, रघुगङ्गा गाउँपालिका–४ को दर्मीजा, धौलागिरि गाउँपालिका–१ गुर्जा र वडा नम्बर ४ बगरमा रहेका तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलको रुपमा प्रयोग भएका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?