Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सेवा प्रवाहमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा


७ जेठ, भक्तपुर । विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ ।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने क्रममा आएको सरकारी मूल्यांकन टोलीले गरेको मूल्यांकनअनुसार प्राप्त अंकका आधारमा भक्तपुर अस्पताल सबैभन्दा धेरै ९७ अंक प्राप्त गरी बागमती प्रदेशभित्रका अस्पतालमध्ये सर्वोत्कृष्ट बन्न सफल भएको हो ।

अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट बनेको घोषणा गरिएको हो । साथै यो अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।

अस्पतालको स्थलगत अवलोकन र तीन दिन लगाएर गरिएको मूल्यांकनमा भक्तपुर अस्पतालले ९७ अंक प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताए।

अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा पवन साह, कान्ति बाल अस्पतालका नर्सिङ प्रमुख रोशनी तुइतुइ, स्वास्थ्य विभागका मिरा निरौला लगायतको मूल्यांकन टोलीको मूल्यांकनमा यस अस्पतालले उक्त अंक प्राप्त गरेको हो ।

भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा मूल्यांकन समितिले तयार पारेको नतिजा सार्वजनिक गर्दै सो अस्पताल बागमती प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको घोषणा गरिएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक श्रेष्ठले भक्तपुर अस्पतालको उपस्थितिले उपत्यकामा प्रदेश सरकारको प्रतिनिधित्व मात्र नभई यहाँको सेवाले देशकै शिर उँचो बनाएको बताए ।

प्रदेशभित्र उत्कृष्ट दुई अस्पताललाई बजेटसहित दुई सय शय्याको अनुमति दिने प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई यो अनुमति दिने कार्य प्रारम्भ गर्ने उनको भनाइ थियो ।

निर्देशनालयका महाशाखा प्रमुख सतिश विष्टले भक्तपुर अस्पतालको गुणस्तरलाई अरुले अनुसरण गर्नुपर्नेमा जोड दिँदै बागमती प्रदेशका १३ वटै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अध्यक्ष र नर्सिङ प्रशासकलाई ल्याएर यहाँको सेवाका बारेमा जानकारी दिनुपर्ने औँल्याए।

मूल्यांकन समितिका सदस्य एवं कान्ति बाल अस्पतालका प्रमुख नर्सिङ प्रशासक तुइतुइले भक्तपुर अस्पतालले विगतभन्दा सेवामा धेरै सुधार गरेको जनाउँदै यो अस्पताल भक्तपुरका बासिन्दाका लागि मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकावासी जनताकै रोजाइको अस्पताल बन्ने पर्याप्त आधार रहेको बताए ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पताल दोस्रो पटक प्रदेशकै उत्कृष्ट अस्पताल बन्नुमा सिङ्गो ‘टिम’को सही मूल्यांकन भएको बताए। उनले भक्तपुर अस्पतालले प्रदान गर्दै आएको सबै सेवाका बारेमा जानकारी गराउँदै सबै कर्मचारीको लगनशीलता र मेहनतको प्रतिफलले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताए ।

अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष रमण कायस्थले उत्कृष्टताको पहिचान थपेसँगै अस्पताललाई अब सेवा खस्किन दिन नहुने जिम्मेवारी थपिएको बताए । त्यो जिम्मेवारीलाई सबै मिलेर पूरा गर्ने र देशकै उत्कृष्ट अस्पताल बनाउन लागिपर्ने उनले बताए ।

तत्कालीन समयमा २७ देखि ३८ अंक्मा चित्त बुझाउँदै आएको यस अस्पतालमा मेसु डा गौतम आएपछि अस्पतालको सेवा विस्तार र कोरोना महामारीमा उत्कृष्ट काम गरेर विसं २०७७ पुसमा भएको मूल्यांकनमा ८२ अंक प्राप्त गरी प्रदेशमै उत्कृष्ट बन्न सफल भएको थियो । कोरोना महामारीसँग जुध्दै भक्तपुर अस्पतालले आइसियु, एनआइसियु र भेन्टिलेटर सेवा सुरु गरेको थियो । अहिले अस्पतालले अधिकांश सेवा सुरु गर्नुका साथै २४ सै घण्टा शल्यक्रियासहितको सेवा विस्तार गरेको छ ।

पाँच वर्ष अगाडिसम्म ‘रेफर सेन्टर’का रुपमा रहेको भन्दै बिरामी नआउने यस अस्पतालले अहिले गुणस्तरीय सेवा विस्तार गरेसँगै ओपिडीमा दैनिक आठ सयसम्मको भीड र भर्ना गर्नसमेत शय्या अभावको अवस्था आउन थालेको छ । यसअघि कोभिड महामारीमा यस अस्पतालले पुर्‍याएको सेवाबापत मेसु डा गौतमसहितका कर्मचारीलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पदक प्रदान गरेका थिए ।


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?