Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

पूर्वराजपरिवारको हिउँदकालीन दरबार सर्वसाधारणका लागि खुला गरिँदै


७ जेठ, गण्डकी । पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो ।

नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा ‘रत्नमन्दिर’ बनाएका थिए । राजसंस्थाको अन्त्यपछि वि.सं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो । शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए ।

नेपाल ट्रस्टका सञ्चालक सदस्य योङजोम शेर्पाले पहिलोपटक यही जेठ १५ गतेदेखि सर्वसाधारण र पर्यटकका लागि दरबार खुला गर्न लागिएको जानकारी दिए । ‘देशविदेशका पर्यटकलाई लक्ष्य गरी दरबार परिसर खुला गर्दैछौँ’, उनले भने, ‘रत्न मन्दिर खोल्ने वषौँदेखिको प्रयासले सार्थकता पाएको छ ।’

दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला नहुने सञ्चालक सदस्य शेर्पाले बताए । ‘अहिलेलाई दरबार परिसर खुला हुनु नै ठूलो कुरा हो, तत्काललाई दरबारका सबै कक्ष र कोठासम्म पर्यटक लैजान मिल्ने अवस्था छैन’, उनले भने । दरबारका कोठा, भर्‍याङदेखि भित्री संरचना साँघुरा छन् । एकैपटक सबै खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा चुनौती छ ।

‘दरबार परिसर नै पर्यटकलाई लोभ्याउने खालको छ, दरबारभित्रको भागलाई भिडियो प्रविधिबाट बाहिर देखाउने विषयमा सोचिरहेका छौँ’, सञ्चालक सदस्य शेर्पाले भने, ‘दरबार अवलोकन गर्न आउने पर्यटकलाई रोमाञ्चक अनुभूति लिएर फर्कने वातावरण हामी बनाउँछौँ ।’

रत्न मन्दिर खोल्ने निर्णय भएपछि सञ्चालक सदस्य शेर्पा पोखरामै बसेर व्यवस्थापकीय तयारीमा  जुटेका छन् । नेपाल ट्रस्टले दरबार खोल्नका लागि आवश्यक पूर्वतयारीदेखि स्थानीय संयोजनको जिम्मा उनलाई नै दिएको छ ।

पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालयका अनुसार दरबार प्रवेशमा नेपालीका लागि एक सय शुल्क तोकिने छ भने विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइनेछ । विदेशी पर्यटकबाट रू हजार या पाँच सय लिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको सञ्चालक सदस्य शेर्पाले बताए ।

दरबार खुल्ने समय केही दिनमा निर्धारण हुने जनाइएको छ । अहिले दरबार परिसरमा मर्मतसम्भार, रङ्गरोगन र साजसज्जाको काम चलिरहेको एकाइ कार्यालयका प्रमुख गीता मिजारले जानकारी दिए । ‘अहिले दरबार बाहिरको परिसर मात्र सर्वसाधारणका लागि खुला गर्न लागेका छौँ’, उनले भने, ‘अरु क्षेत्र क्रमशः खोल्दै जाने योजना छ ।’

दरबारभित्र के छ ?

पोखरा महानगरपालिका–६ फेवाताल किनारमा रत्न मन्दिर अवस्थित छ । गौरीघाट कटेपछि बाराहीघाट नपुग्दै बीचमा रत्न मन्दिर आइपुग्छ । रत्न मन्दिर वि.सं २०१३ मा निर्माण आरम्भ भएर वि.सं २०१५ निर्माण सम्पन्न भएको थियो ।

पोखरा आउँदा ठाउँ मन परेपछि पूर्वराजा महेन्द्रले सो दरबार बनाएका थिए । राजा महेन्द्रले रानी रत्नलाई दिएको उपहारका रुपमासमेत रत्न मन्दिरलाई लिने गरिन्छ । प्राकृतिक सौन्दर्यका दृष्टिले पनि रत्न मन्दिर र वरपरको वातावरण मनमोहक छ । तीनतले दरबारमा ११ कोठा छन् । भूइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडिसी) बस्ने कोठा र आरामकक्ष छन् ।

दोस्रो तलामा पाँच कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठककक्ष छ । जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे । राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ । त्यो बेलाका खेल सामग्री सुरक्षित छन् । दोस्रो तलामा युवराजको शयनकक्षसहित तीन पाहुना कोठा छन् । राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो ।

सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजा कोठा छ । बाहिरपट्टि आरामकक्ष र दृश्यावलोकनका लागि कौशी छ । हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन् । मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन् । राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि शृङ्गारसम्मका सामग्री सुरक्षित राखिएका छन् ।

भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन् । नेपाली कला झल्काउने हस्तकलाका सामग्री र आकर्षक ‘पेन्टिङ’हरु दरबारभित्र छन् । दरबारमा प्रयोग हुने टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री सङ्ग्रहित छन् ।

काठ र ढुङ्गाबाट दरबार बनेको छ । निर्माणमा रैथाने सीप र प्रविधि प्रयोग भएको देखिन्छ । दरबारको पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका स–साना कोठा छन् । सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ । अहिले रणचण्डी गणले रत्न मन्दिरमा सुरक्षा पहरा दिइरहेको छ ।

तेइस वर्षदेखि रत्न मन्दिरको रेखदेखमा खटिँदै आएकी कार्यालय सहयोगी दुर्गा पराजुलीले राजपरिवारले प्रयोग गर्ने गरेका सबै सामग्री सुरक्षित राखिएको बताए । ‘विस्तारा, भाँडाकुँडादेखि सबै सरसामान जोगाएर राखेका छौँ’, उनले भने, ‘राजपरिवारले प्रयोग गर्ने सियोदेखि महँगा उपहारसम्म दरबारभित्र छन् ।’


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?