Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौति


७ जेष्ठ ,म्याग्दी । म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् ।

यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित र कुरुप बनाएको छ । बारीमा सिसाका बोत्तल यत्रतत्र थुप्रिँदा किसानलाई समस्या भइरहेको छ ।

धवलागिरि गाउँपालिका–७ ताकमका दिवाकर सुवेदीले बाढीले बगाएर ल्याएको सिसाका बोत्तल खेतमा थुप्रिएपछि तीन वर्षदेखि खनजोत गर्न नसक्दा खेतीबाली लगाउन नपाएको गुनासो गरे । “खोल्सामा थुपारेको बोत्तल बाढीले बगाएर खेतमा ल्याएर थुपार्यो”, उनले भने, “खेतभरि सिसाको टुक्रा भएपछि बाली लगाउनै पाएको छैन, बाँझै राखिएको छ ।”

नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहर व्यवस्थापनको उपाय अपनाइएको छैन । साथै मदिरा उत्पादक कम्पनीले नै यस्ता खाली सिसा फिर्ता लैजानुपर्ने हो तर वास्ता नगरेकाले समस्या भएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए । अध्यक्ष खत्रीले चुनौतीका रूपमा देखिएको सिसाजन्य फोहर व्यवस्थापनका लागि नीतिगत पहल गर्नुपर्ने बताएका छन् ।

सडक सञ्जाल जोडिएसँगै दुर्गम भेगका बस्तीमा अझ बढी मदिराजन्य, चिसो पेयपदार्थजन्य सिसाका खाली बोत्तलको थुप्रो लागेको छ । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय बस्ती घोडेपानीका व्यवसायीले भने सिसाका खाली बोत्तल खाल्डोमा पुर्दै आएका छन् । “मदिराजन्य सिसाका खाली बोत्तल पर्यटकीय क्षेत्रका लागि समस्या भएका छन् । यस्ता बोत्तल फिर्ता लैजाने कोही नभएकाले हामीले खाल्डो खनेर गाड्ने गरेका छौँ”, घोडेपानीका सुशील पुनले भने, “सिसाको बोत्तल फिर्ता लैजाने कम्पनीको मात्रै मदिरा बेच्नेबारे हामीले समुदायमा छलफल गरिरहेका छौँ ।”

घोडेपानीमा पर्यटनको एक याममा एउटा होटलबाट एक ट्रयाक्टरभन्दा बढी सिसाको बोत्तल निस्कने उनको भनाइ छ । बस्तीभन्दा माथिल्लो क्षेत्रका हिमाली पदमार्ग र आधार शिविरमा पनि यस्ता सिसाका बोत्तल थुप्रिँदा समस्या बढ्दै गएको छ । यत्रतत्र छरिएका सिसाका बोत्तल र क्यानले आधार शिविर क्षेत्रमा फोहर बढेको छ । यसको व्यवस्थापनमा अझैसम्म जिम्मेवार निकायले चासो दिएको देखिँदैन ।

साथै पदमार्गमा आउने अधिकांश पर्यटकले समेत आफूले ल्याएको सिसाका बोत्तल सुरक्षितरूपमा व्यवस्थापन नगरी जथाभावी फाल्ने गरेका छन् । पर्यटकीय क्षेत्र तथा गाउँघरमा सिसाका बोत्तल व्यवस्थापनमा चुनौती थपिएको छ । “मदिरा खानेले स्वाद र मनोरञ्जन लिए, बेच्नेले पैसा कमाए । तर स्थानीयवासीले भने सास्ती भोग्नुपरेको छ”, घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजाले भने, “एउटाले सेवन गरेको, अर्कोले बेचेर पैसा कमाएको मदिराको खाली बोत्तलबाट निर्दोष किसान पीडित हुनुपरेको छ ।”


प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?