Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बेसहारालाई सहारा दिन महायज्ञ


मानव सेवा आश्रमले आफ्नो नामअनुसार बेसहाराका लागि सहारा दिँदै आएको छ । आश्रमले ‘मानवीयताको कुनै सीमा हुँदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा विसं २०६९ भदौ १३ गतेबाट स्थापित मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा विस्तार गरेको छ । अहिले देशभरका १९ जिल्लाको २३ सेवा केन्द्रबाट सहयोगापेक्षीहरुको उद्धार गरी पालनपोषण गरिदै आएको छ । विसं २०७४ चैत १७ गतेदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा मानवसेवाले सेवा विस्तार गरेको हो ।

यहाँ छोरेपाटन र हेम्जामा सेवा केन्द्र स्थापना गरी सेवा दिन थालेको मानव सेवा आश्रमका कोषाध्यक्ष तथा गण्डकी संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । “हामीले दुई सेवा केन्द्रमा अहिले एक सय ६३ जनालाई सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो । पोखरामा सेवा विस्तारका लागि नौ करोड लागतमा आफ्नै सुविधा सम्पन्न भवन बनाउँदै गरेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । आश्रमले पोखरा २५ हेम्जा बबियातरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलब्ध गराएको ६३ रोपनी जग्गामा दुई सय ५० जना अट्ने भवन बनाउँदैछ । “प्रदेशभरका सहयोगापेक्षी मानवहरुलाई एकै ठाँउमा राख्नेगरी बबियातरामा भवन बनाउन लागिएको हो,” उहाँले भन्नुभयो । त्यसमा गण्डकी प्रदेश सरकारले अहिलेसम्म एक करोड ४० लाख सहयोग गरेको मानव सेवा आश्रमका कोषाध्यक्ष तथा गण्डकी संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । राज्यसँगै अन्य दाताको सहयोगमा करिब रु पाँच करोड बराबरको काम सकिसकेको उहाँको भनाइ छ । भवन सम्पन्न गर्न अझै रु चार करोडको काम बाँकी छ । यसका लागि मानवसेवा आश्रमले सबै क्षेत्रसँग सहयोगको अपिल गरिहेको छ । रकम जुटाउन आश्रम आफैँले पनि विविध कार्यक्रम गरिरहेको छ । केही दिन अघि मानवताका लागि साङ्गीतिक अभियान गरेको आश्रमले महायज्ञको तयारी गरिरहेको छ । भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ माघ २० गतेदेखि २७ गतेसम्म आश्रमको भवन निर्माणस्थल हेमजामा महायज्ञ हुने भएको महायज्ञ संयोजक मोतिबहादुर थापाले जानकारी दिनुभयो ।

महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथावाचन गर्नुहुनेछ । महायज्ञमा नियमित रुपमा बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ बजेदेखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साढे ४ बजे प्रसाद ग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुने भागवत भाष्कर कमलनयन गौतमले बताउनुभयो । महायज्ञअन्तर्गत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्ज्वलन गरिने जनाइएको छ ।


प्रकाशित मिति: ७ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?