Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

नवलपुरमा जग्गा नापीको कामले गति लिँदै


३० वैशाख ,त्रिवेणी । भूमिसम्बन्धी समस्या समाधानका लागि नवलपरासी पूर्व नवलपुरमा जग्गा नापीको कामले गति लिन थालेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यहाँ रहेका पालिकामा जग्गा नापीको कामले गति लिन थालेको हो ।

नवलपुरका आठ वटा पालिकामध्ये हाल तीन वटा पालिकामा जग्गा नापीको काम भइरहेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला सदस्य राम तामाङका अनुसार कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा जग्गा नापीको काम जारी छ ।

नवलपुरको देवचुली नगरपालिका, गैँडाकोट नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा प्राप्त आवेदनमा अनलाइन ‘इन्ट्री’को काम चलिरहेको छ । जसमध्ये देवचुली र गैँडाकोटको काम करिब अन्तिम चरणमा रहेकाले चाँडै जग्गा नापीको काम सुरु हुने जिल्ला सदस्य तामाङले बताए ।

जिल्लाका पहाडी क्षेत्रमा पर्ने पालिका बौदीकाली र बुलिङटारमा भने भूमिसम्बन्धी समस्या समाधानको काम अघि बढाउने गरी सम्झौताको काम सकिएको र चाँडै रहे तापनि थप आवश्यक कार्य अघि बढ्ने बताए । “करिबजसो सबै पालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक काम अघि बढेका छन्, केही पालिकामा नापीकै काम चलिरहेको छ, यही गतिमा काम अघि बढे केही वडामा अबको एक महिनामा पुर्जा दिन सकिन्छ”, जिल्ला सदस्य तामाङले भने ।

नवलपुरमा प्रारम्भिक तथ्याङ्कअनुसार करिब ३० हजार आवेदन परेका छन् । सबै पालिकाले प्राप्त आवेदनलाई अनलाइन इन्ट्रीको काम सके यकिन तथ्याङ्क आउने उनले बताए । शुक्रबार मात्रै जिल्लाको कावासोती नगरपालिकाले जग्गा नापीको कामलाई अघि बढाएको छ । नगरपालिकाको वडा नम्बर १ र ४ बाट जग्गा नापीको काम सुरु भएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए ।

पालिकामा अघिल्लो आयोगका समयमा केही वडामा नापीको काम भएको थियो । हालको आयोगले सोही प्रक्रियालाई स्वामित्व लिएपछि नयाँ वडाबाट थप नापीको काम सुरु गरिएको नगर प्रमुख भुसालले बताए । जग्गाको समस्या चाँडो समाधान गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । वर्षौंदेखि भूमिहीन सुकुम्बासीका रुपमा रहेकालाई राज्यले एकपटकको लागि पुर्जा दिन लागेकाले यो कामलाई जतिसक्दो चाँडो सम्पन्न गरी भूमिहीन, सुकुम्बासीलाई जग्गाको मालिक बनाउने काममा सबैले सकारात्मक सहयोग गर्नुपर्ने उनले बताए ।

कावासोती नगरपालिकाभित्र सात हजार पाँच सय ६७ जनाले आवेदन दिएका छन् । नगरपालिकामा सात सय सात भूमिहीन दलित, एक हजार दुई सय ५१ भूमिहीन सुकुम्बासी र पाँच हजार छ सय नौ जनाअव्यवस्थित बसोबासीले आवेदन दिएका छन् । जसमध्ये सबै कम्प्युटर इन्ट्रीको काम सकिएको छ । पालिकाभित्र यसअघि दुई हजार ८६ कित्ताको नापीसमेत सकिएको छ ।

कावासोती नगरपालिका वडा नम्बर ३, ५, १०, १५ र १७ मा यसअघि नापी गरिएको छ तर यी वडामा पूर्णरुपमा नापीको काम सम्पन्न हुन बाँकी छ । जग्गा नापीको काम सकिने वडामा क्रमशः फिल्डबुक तयार पार्ने, स्रेस्ता पुर्जा तयार पार्ने र पुर्जा बितरणको काम हुने आयोगका जिल्ला सदस्य तामाङले बताए ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?