Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने


२८ वैशाख, म्याग्दी । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सवस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सवस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।

पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमा नै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सवस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।

दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सवस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डको निर्माण आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । यस खण्डमा पर्ने दुई सय ३५ वटा टावरमध्ये पर्वतमा तीन वटा, पाल्पामा एक वटा, रुपन्देहीमा पाँचवटा निर्माणाधीन छन् । निर्माण सम्पन्न भएका टावरमा तार तानिसकिएको छ ।

नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सवस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमा पर्ने १७ वटा टावर निर्माण सम्पन्न भइसकेको छ । कूल पाँच दशमलव छ किलोमिटर मल्टी सर्किट लाइनमध्ये दुई दशमलव नौ किलोमिटरमा तार तान्न बाँकी छ ।

बडेरा सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गरेको वन क्षेत्रमा पर्ने लाइन तान्नका लागि एक हजार एक सय ५० रुख कटान गर्नुपर्ने छ । मन्त्रिपरिषद्बाट वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख कटानका लागि स्वीकृति भइसकेको छ । वन तथा भू–संरक्षण विभागसँग सम्झौता गरी रुख कटान आदेश लिने प्रक्रियामा छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीको पाल्पा, देवदह र नवलपरासीमा निर्माणाधीन प्रसारण लाइन निर्माणस्थलको अनुगमन भ्रमण गरी असारभित्र सम्पन्न गर्ने गरी काम गर्नुपर्ने बताए । कार्यकारी निर्देशक घिसिङले नवलपरासीका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश, वन निर्देशनालयका निर्देशकलाई छुट्टाछुट्टै भेट गरी राष्ट्रिय प्राथमिकता प्राप्त तथा अत्यन्तै महत्वपूर्ण लाइन निर्माण सम्पन्न गर्ने आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरे ।

“यो लाइन असारभित्रमा निर्माण सम्पन्न भएन भने जलविद्युत् आयोजनाबाट उत्पादित करिब ३ सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, यस्तो अवस्था आउनु प्राधिकरणका लागि मात्र नभइ देशकै लागि घाटा हो”, उनले भने, “निर्माण अन्तिम चरणमा पुगेको यस लाइनलाई सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गरिदिनु पर्यो ।”

आयोजना प्रमुख प्रमुख चन्दन घोषले निर्माणमा रहेका अधिकांश समस्या समाधान हुँदै गएकाले असारभित्रमा जसरी पनि सम्पन्न गर्ने लक्ष्यका साथ बाँकी काम भइरहेको बताए ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?