Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

राप्ती बगरबाट गोहीका २५९ अण्डा सङ्कलन


२८ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो ।

खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा प्राकृतिमा छाडिएको छ । गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सान्तबहादुर मगरका अनुसार नौवटा गुँडमध्ये एउटा गुँडको १७ वटा अण्डा छिरलिएको अवस्थामा भेटिएका थिए । राप्ती नदीको खोरसोर घाटबाट सीतामाई घाटसम्म अण्डा सङ्कलन गरिएको हो ।

गोही प्रजनन केन्द्रमा ती अण्डा ल्याएर बालुवाभित्र चल्ला कोरल्नका लागि राखिएको छ । जेठ १५ पछि साउनसम्म ती अण्डाबाट बच्चा कोरल्ने गरिन्छ । प्रजनन केन्द्रका तीन वटा गुँडमा गोहीले अण्डा पारेको छ । मगरका अनुसार गत दुई वर्ष प्रजनन केन्द्रका अण्डाबाट बच्चा कोरलिएका छैनन् । प्रजनन केन्द्रमा दुई वटा भाले रहेका छन् । भालेमा समस्या भएका कारण अण्डाबाट बच्चा नकोरलिएको अनुमान गरिएको छ ।

प्रजनन केन्द्रमा गोहीको सङ्ख्या बढी भएपछि यस वर्ष अण्डा थोरै मात्र सङ्कलन गरिएको हो । गत वर्ष पाँच सय ६३ वटा अण्डा सङ्कलन गरिएको थियो । ती अण्डाबाट चार सय ९६ बच्चा कोरलिएका थिए । यसरी कोरलिएका बच्चा बचाउन निकै जटिल हुने गर्दछ । हालसम्म आइपुग्दा तीमध्ये तीन सय हाराहारी मात्रै जीवित छन् ।

मगरले प्रजनन केन्द्रमा छ सय ४० साना ठूला गोही रहेको भन्दै थोरै मात्र अण्डा सङ्कलन गरिएको बताए । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । हरेक वर्ष बाढीले बगाएर गोही भारत पु¥याउने गर्दछ । यद्यपि संरक्षण कार्यलाई निकुञ्जले निरन्तरता दिएको छ । राप्ती नदी गोहीका लागि राम्रो मानिएको छ ।

प्रजनन केन्द्रमा हुर्काएर हालसम्म एक हजार आठ सय ५२ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ । तीमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार एक सय ३२ वटा गोही नदीमा छाडिएको छ । यस्तै नारायणीमा चार सय १९, बबईमा एक सय १०, सप्तकोशीमा एक सय १५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ गोही छाडिएको छ ।

पछिल्ला दिनहरुमा अन्य नदीमा संरक्षण हुन नसकेपछि अधिकांश गोही राप्ती र नारायणीमा मात्रै छोडिँदै आएको छ । नदी प्रदूषण रोक्न, जथाभावी नदीजन्य पदार्थ उत्खनन नगर्न र ठूला जाल प्रयोग नगर्न निकुञ्जले आग्रह गर्दै आएको छ ।


प्रकाशित मिति: २८ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?