Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको अवस्था सुधार


२१ वैशाख, काठमाडाैँ । विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको ठक्करबाट बुधबार घाइते भएका छ बालबालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनका अनुसार ती बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ ।

दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ बस्ने छ वर्षीया आयुषा भुजेल, दस वर्षीया जस्मिन भुजेल, दस वर्षीय ईश्वर भुजेल, आठ वर्षीय समीर भुजेल र पाँच वर्षीय सन्तोष भुजेल घाइते भएका थिए ।

उक्त दुर्घटनामा सोही ठाउँका १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये एक बालक र घाइते छ बालक आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत छन् । बालबालिका सधैँ झैँ उक्त दिन पनि  विद्यालय जान बिहान ९ः३० बजे सडक छेउमा उभिएका थिए ।

यत्तिकैमा अचानक डुम्रेबाट आएको ट्रकले बालबालिकालाई ठक्कर दियो । उक्त ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एक घरमा पनि ठक्कर दियो । ठक्करबाट विद्यालय जान तयारी गरिरहेका विद्यार्थी र अन्य दुई जना घाइते भएका थिए ।

उक्त घटनाप्रति बन्दीपुर गाउँपालिकाले दुःख व्यक्त गरेको छ । दुर्घटनामा मृत्यु भएका तीन जनाप्रति समवेदना व्यक्त गर्दै गाउँपालिकाले घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले आज जारी गरेको शोक वक्तव्यमा भनिएको छ, “मृतात्माको चीरशान्तिको कामना गर्दै उक्त दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”

घाइतेको उद्धार तथा उपचारमा संलग्न व्यक्ति, सुरक्षाकर्मी, चिकित्सक, स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि र स्थानीय जनसमुदायमा गाउँपालिकाले आभार व्यक्त गरेको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?