Trending
>>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

ढोरपाटनमा पाँच वर्षदेखि बँदेलको सिकार हुन सकेन


१५ वैशाख ,काठमाडौँ । ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्‍याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ ।

सिकार आरक्षमा बँदेलको सङ्ख्या बढ्दो छ । वैधानिकरूपमा अनुमति लिएर बँदेलको सिकार गर्न पाइन्छ । तर पछिल्लो पाँच वर्षमा बँदेलको सिकार हुनसकेको छैन । आरक्षमा बँदेल सिकारीको रोजाइमा बँदेल परेन । नाउर, झारल, बँदेल, रतुवा र मृगको सिकार हुँदै आएको ढोरपाटनमा आर्थिक वर्ष २०७३/७४ पछि बँदेलको सिकार हुन नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए ।

ढोरपाटनमा हरेक वर्ष असोज–कात्तिक र फागुन–वैशाखयाममा नाउर, झारल र बँदेल सिकारका लागि बोलपत्र आह्वान गरेर अनुमति दिइन्छ । हरेक वर्ष नाउर र झारलको सिकार भइरहे पनि बँदेलको सिकार शून्य रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।

ढोरपाटनमा गत आव २०७८/७९ देखि नाउर र झारलको सिकार गरे पनि बोनसको रूपमा बँदेलको सिकार गर्न रोक लगाएर छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट यस वर्षको दोस्रो सिजनमा १२ नाउर, नौ झारल र ११ बँदेलको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए पनि बँदेलको सिकारका लागि सिकारीले इच्छा नदेखाएका हुन् ।

कँडेलले यस वर्षको अघिल्लो याम (असोज–कात्तिक)मा बोलपत्र स्वीकृत भए पनि दुई नेपाली सिकार गर्न नआएको बताए । “अघिल्लो याम बोलपत्र स्वीकृत भए पनि बँदेल सिकारका लागि सिकारी आएनन्”, कँडेलले भने, “यस वर्ष बोलपत्र स्वीकृत नभएपछि सिकारी यस याममा पनि नआउने निश्चित देखिन्छ ।”

बँदेल सिकार रातिमा उत्तम रहेकाले पनि सिकारीले इच्छा नदेखाएको हुनसक्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । पहिले नाउर र झारलको सिकार गरेवापत बोनसका रूपमा रतुवा र बँदेल एक–एकवटा सिकार गर्न दिइने गरे पनि अहिले त्यसको व्यवस्था नभएको हिमालयन आउट फिटर्सका सञ्चालक अतुल खड्काले बताए । उनले अहिले बँदेलको सिकारका लागि पनि बोलपत्रमार्फत स्वीकृत हुनुपर्ने भएकाले सिकारीले इच्छा नदेखाएको बताए ।

सञ्चालक खड्काले नेपालीका लागि सिकार गर्न विभागले सहज वातावरण बनाइदिनुपर्ने बताए । प्रक्रिया नबुझेर पनि नेपाली सिकारी नआउने गरेका हुन् । त्यसका लागि विभागले जानकारी दिनुपर्ने उनको धारणा छ । स्थानीय गङ्गा भण्डारीले ढोरपाटनवासीको मुख्य खेती आलु भए पनि बँदेलले क्षति पुर्‍याउँदा हरेक वर्ष घरव्यवहार चलाउन गाह्रो पर्दै आएको बताए ।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?