Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा


१४ वैशाख, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताउनुभयो । उनले अब मन्दिरमा बत्ती जडान, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने केही काम बाँकी रहेको बताए । “गाउँपालिका र प्रदेश सरकारको झन्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ”, उनले भने, “चारपाँच लाख चन्दादाताबाट पनि बटुलिएको छ ।” मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उनको भनाइ छ । यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख र गाउँपालिकाले विनियोजन गरेको रु आठ लाखको काम भइरहेको बोहोराले बताए ।

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ । मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो परेको बताए । उनले एक महिनाभित्र मन्दिर पुनःनिर्माणको काम सकिने बताए । कोरोना र आर्थिक समस्याले मन्दिर निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गरेको बताए । “उहाँले मन्दिर नजिकै पाहुना घरसमेत निर्माण भइरहेको जनाउँदै मन्दिरमा लिफ्टबाट खानेपानीको व्यवस्था गरिएको बताए । जमिन संरक्षण र प्रवेशद्वारा निर्माणलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ”, उनले भने । इच्छाकामना गाउँपालिका पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको भन्दै उनले प्रचारप्रसारलाई बढाइने बताए । उनले मन्दिरको सरसफाइका लागि पनि कर्मचारी नियुक्ति गर्ने तयारी भइरहेको जानकारी दिए ।

शक्तिखोर फिस्लिङ सडक निर्माण सम्पन्न भएपछि सहजरूपमा इच्छाकामना मन्दिर पुग्न सकिन्छ । गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष मङ्सिरको ठूली एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।


प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?