११ वैशाख, काठमाडाैँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकको राज्यशक्तिको स्रोत, सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नै नीहित रहेको भन्दै २०६३ वैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे ।
तत्कालीन राजाले सो दिन जारी गरेको शाही घोषणामा भनिएको थियो, ‘बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेवारी बहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दललाई आह्वान गर्दछौँ ।’
नेपाली जनताद्वारा लामो सङ्घर्ष र बलिदानमार्फत प्राप्त प्रजातन्त्रलाई बेवास्ता गरी शासनसत्ता सञ्चालन गर्दै आएका राजाले तत्कालीन सात राजनीतिक दलको मार्गचित्रका आधारमा अघि बढ्ने घोषणा गरेको दिनलाई लोकतन्त्र दिवसका रूपमा लिँदै आइएको छ ।
मुलुकका प्रमुख राजनीतिक दलका नेताहरूले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि वैशाख ११ गते ऐतिहासिक क्षण भएकाले यसको महत्त्वलाई हेक्का राखी कमीकमजोरीलाई सच्याएर अघि बढ्ने प्रण गर्नुपर्नेमा जोड दिएका छन् ।
जनता सार्वभौमसम्पन्नतातर्फ अघि बढ्नेक्रम र सफलताको पहिलो चरणका रूपमा आजको दिनलाई स्मरण गर्दै उनीहरूले जनता र सबै राजनीतिक दलबीचको एकताबद्ध प्रयासको आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सफलतातिर अघि बढिरहेको घटनाका रूपमा सम्झिएको प्रतिक्रिया दिए ।
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले वैशाख ११ गतेको जगमा प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्ने क्रममा हामीले कहीँकतै कमीकमजोरी त गरिरहेका छैनौँ भन्ने प्रश्न मनमा उठिरहेको प्रतिक्रिया दिए । ‘देशलाई एकताबद्ध बनाउने प्रयासमा संविधानसभाबाट समझदारीको संविधान बनाइयो, जनताको आर्शिवाद लिएर जुनसुकै परिवर्तन गर्न सकिन्छ भन्ने मानक स्थापित गरियो, उपलब्धि कार्यान्वयन गर्दै अघि बढ्ने क्रममा कमजोरी देखिएमा सच्याउँदै अघि बढ्छौँ भन्ने प्रतिबद्धता गर्नुपर्छ,’ नेम्वाङले भने ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले संघर्ष गरेर लोकतन्त्र प्राप्त गरेको दिनलाई ऐतिहासिक र महत्त्वपूर्ण घटनाका रूपमा लिनुपर्ने धारणा राखे । उनले भने, ‘आन्दोलनका उपलब्धिलाई लोकतन्त्र ल्याउनेले कति सदुपयोग वा दुरुपयोग गरे त्यो आफ्नो ठाउँमा छ, तैपनि आजको दिन मुलुकको लोकतान्त्रिक आन्दोलन र उपलब्धिका हिसाबले महत्त्वपूर्ण छ ।’
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले तत्कालीन राजाले राजनीतिक दलले लोकतन्त्रका लागि राखेको अडानप्रति नतमस्तक हुँदै घोषणा गरेको ऐतिहासिक दिनका रूपमा वैशाख ११ लाई स्मरण गरेको प्रतिक्रिया दिए ।
‘त्यो दिनले नेपालको राजनीतिक पाटोलाई इतिहासमै एउटा कोल्टो फेराउने काम गरेको छ, यो ठूलो राजनीतिक उपलब्धिको घटना नै हो भन्ने लाग्छ,’ गुरुङले भने, ‘यसबीचका उपलब्धिलाई इतिहासले मूल्याङ्कन गर्ने नै छ ।’
नेकपा (माओवादी केन्द्र) की नेत्री पम्फा भुसालले मुलुकमा निरङ्कुशताविरुद्ध लोकतन्त्रका लागि तत्कालीन सात दल र माओवादीबीचको आन्दोलन, जनता र लोकतन्त्रको विजय तथा निरङ्कुशताको पराजयको घटनाका रूपमा आजको दिनलाई स्मरण गरिने प्रतिक्रिया दिइन् ।
‘गणतन्त्रको घोषणा, अन्तरिम संविधान निर्माण, संविधानसभा निर्वाचन, गणतन्त्रको कार्यान्वयन, संविधान जारी, समानुपातिक र समावेशी सिद्धान्त कार्यान्वयन गर्ने विषय त्यही आन्दोलन र दिनको उपलब्धि हुन् । उपलब्धिलाई थप प्रभावकारी तुल्याउन सबै निष्ठापूर्वक लाग्नुपर्छ,’ भुसालले भनिन् ।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले आजको दिनलाई राजनीतिक प्रतिगमन समाप्त भएको घटनाका रूपमा लिएको प्रतिक्रिया दिए । उनले भने, ‘आजको दिन प्रतिगमन समाप्त भयो, त्यसपछि पनि फेरि प्रतिगमन सुरु भएको स्मरण गर्नुपर्यो, प्रतिगमन अन्त्य गर्ने भनेको गरिबी, बेरोजगारी, महँगी र भ्रष्टाचार नियन्त्रण हो, त्यो हुन सकेन । एउटा समाप्त भए पनि अर्को बाँकी नै रह्यो ।’
जनता समाजवादी पार्टी नेपालकी नेत्री रञ्जुकुमारी झाले राजनीतिक परिवर्तन र उपलब्धिका दृष्टिले २०६२/६३ को आन्दोलन उत्कर्षका कारण संघीयता, गणतन्त्र र समावेशीका उपलब्धि उपभोग गर्न पाइएको प्रतिक्रिया दिइन् । ‘संविधानसभाबाट संविधान जारी भएको छ, त्यसपछि भएका अभ्यासलाई जोश र जाँगरले अघि बढाउनुपर्नेमा, त्यसो हुन सकेन, त्यसले अनेक खालका टीकाटिप्पणी भए, नेतामा नैतिकता र सिद्धान्तको अभाव खड्कियो, यसमा सुधार ल्याउनुपर्छ,’ उनले भनिन् ।
प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार